३ आश्विन,काठमाडौँ । हार्बी र इर्मा आँधीका कारण ठूलो क्षति व्यहोरेको क्यारेबियन क्षेत्र र अमेरिकाका केही क्षेत्रमा अर्को आँधी मारियाले पनि क्षति पुर्‍याउने देखिएको छ ।

मारिया आँधी निकै खतरनाक रहेको र यो क्याटेगोरी फाइभको आँधी रहेको अमेरिकाका आँधी पूर्वानुमानकर्ताले बताएका छन् ।
यो आँधीले क्यारेबियन क्षेत्रका आइल्याण्डहरुमा क्षति पुर्‍याउने अनुमान छ । मारिया आँधी लिवार्ड आइल्याण्डमा पुग्ने क्रममा छ । यसमा युएसु तथा ब्रिटिस भर्जिन आइल्याण्डमा पनि मारिया आँधीको प्रभाव रहने छ ।

यो महिनाको सुरुमा आएको इर्मा आँधीकै मार्ग भएर मारिया आँधी पनि अघि बढेको छ ।

यसले गर्दा यसअघि नै ठूलो क्षति व्यहोरेको क्यारेबियन क्षेत्रमा थप क्षति हुने देखिएको छ । फ्रेन्च आइल्याण्ड, गुएडेलोउपी, पोर्टो रिको, डोमिनिका, सेन्ट किट्टस् एण्ड नेविस, मोन्टेसेराट, सेन्ट लुसियामा पनि चेतावनी दिइएको छ ।

यो महिनाको सुरुमा आएको क्याटेगोरी फाइभको आँधी इर्माका कारण ३७ जनाको ज्यान गएको क्यारेबियन क्षेत्रमा अहिले क्षतिको विवरण संकलन तथा पुर्नर्निर्माणका लागि काम सुरु गर्न थालिएको थियो ।

यहिबेला अर्को आँधीले यो क्षेत्रमा क्षति पु¥याउने देखिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युएस भर्जिन आइल्याण्डमा आपतकालिन अवस्था घोषणा गरेका छन ।

प्रतिकृया

प्रतिकृया