२१ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको बताए ।

उनले भने, ‘वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको ध्येय आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ । हामी निर्वाचन सफल बनाउन चाहन्छौं।’

प्रचण्डले एउटै कम्युनिष्ट एकता बनाउने उद्देश्य अनुरुप तालमेल भएको समेत बताए । ‘हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो । यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ । तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।’

प्रतिकृया

प्रतिकृया