– राजनीतिक विश्लेषक डा. लोकराज बराल/

अहिले राजनैतिक दलहरुको गठबन्धन बन्नु सामान्य नै हो । भोली मिलिजुली सरकार बन्ने सम्भावना धेरै छ । त्यसैकारण यो गठबन्धन स्वभाविक नै हो । चुनावी माहोलमा गठबन्धन स्वभाविक हो । तर  यो गठबन्धनले मुलुकमा विकास हुन्छ भन्ने मलाई लाग्दैन । राजनैतीक अस्थिरता अहिले जस्तो छ, भोली पनि त्यस्तै नै हुन्छ । विकासका निम्ति कम्तिमा ५ वर्षसम्म एउटैको सरकार हुनुपर्यो, एउटा राजनैतिक चिन्तन हुनुपर्यो । कर्मचारी सरुवामा मात्र ध्यान व्यापक मात्रामा जाने सम्भावना छ । त्यसकारण मलाई लाग्छ यो गठबन्धन बन्दैमा मुलुकमा विकास हुन्छ भन्ने लाग्दैन ।

राजनैतिक गठबन्धन बन्नुमा मलाई लाग्छ बाहिरी शक्तिको हात छैन । यो सबै हावादारी कुरा हुन् । यो हाम्रै हातको कुरा हो । हामी केही गर्दैनौं अनि हरेक कुरा विदेशीलाई भन्छौं । नेपालमा एउटा पनि कम्युनिष्ट छैन । सातसाल देखि नै कम्युनिष्ट पार्टी छैन किनकी सबैले बहुदलिय व्यवस्था मानेरै सबैले चुनाव मानेका हुन् । नारा र व्यानरमा कम्युनिष्ट छ तर व्यवहारमा कम्युनिष्ट छैन । यी सबै अहिले टिक्नका लागि मात्रै हो । आफ्नो गल्ती ढाकछोपका निम्ति मात्रै विदेशीको हात रहेको देखाईदिएको हो ।

निर्वाचनमा वैदेशिक प्रभाव रहने सम्भावना छ छैन भन्ने अवस्था छैन । पार्टी एकता, जुटाउने, फुटाउने जस्ताकुराहरु हुन सक्छ । निर्वाचनमा आर्थिक सहयोग हुनसक्छ । प्रभाव सुक्ष्मरुपले हुनेकुराहरु हुन् । खुला सिमानाकै कारण पनि यहाँ प्रभाव पर्दैन भन्न मिल्ने अवस्था छैन ।

राजनीतिक स्थिरता,

म निराशावादी हैन, व्यवहारिक कुरा हो । यत्रो केन्द्रिकृत राज्यबाट एकैपटक संघीयतामा उफ्रेर हाम्फल्ने बानी हाम्रो छ । विस्तारैविस्तारै गर्ने बानी छैन । विकासक्रममा जाने बानी छैन । सबै दलहरु उफ्रेर जान खोज्छन् । यसले कति सम्भव छ ? हाम्रो चिन्तन, हाम्रो गराई हाम्रो प्रशाषन सबै केन्द्रिकृत छ, हाम्रो नेताहरुको मान्यता सबै आफैं गरुम् भन्ने छ । आफ्नै पार्टीभित्र त लोकतन्त्र छैन । त्यसकारण अहिले नै सबै फुमन्तर बाचा भन्न सकिने अवस्था छैन । अभ्यास हो यो, सफल हुन पनि सक्छ नहुन पनि सक्छ । हामीले विगतदेखि हेर्दै आएको कुरा हो,  जस्तै पञ्चायती व्यवस्था त्यो एउटा भयङ्कर अभ्यास थियो ।

 निर्दलिय व्यवस्थाले देशमा ठुलो परिवर्तन आउने कुरा भएको थियो, त्यो पनि हेरियो । विगतमा थुप्रै अभ्यासहरु भए तर सफल भएनन् । मेरो विचारमा झन्झन् जटिलता सिर्जना गर्छ ।केन्द्रबाट अह्राउने कुरामा हस्तक्षेप हुन थाल्यो भने स्थानीय तह प्रतिउत्पादक हुन पनि सक्छ । ससाना प्रदेशहरु भएको हुनाले मनमुटावहरु सिर्जनाहरु हुन सक्छ । कसैलाई काखा कसैलाई पाखा गरेजस्तो हुन सक्छ । हरेक कुरा सम्वेदनशील छ, क्षेत्रीय सन्तुलन कसरी गर्ने, जातीय सन्तुलन, वर्गिय सन्तुलन तथा भौगोलिक सन्तुलन कसरी गर्ने भन्ने कुरामा केन्द्रिय नेताहरु ध्यान दिनुपर्छ र सबै सन्तुलन गरेर लैजानुपर्छ । प्रशाषन चलाउन पहिलेजस्तो सहज हुन्न अब ।

बैदेशिक नीति

नेपालको राजनीतिमा वाह्य शक्तिको हात हुन्छ भन्ने कुरा म मान्न सक्दैन । यसको हामी नै कारक हौ । हामी नै खेलाडी हौ । हाम्रै हातको कुरा हो । आफु अस्थिर भएपछि बाहिरी शक्तिले खेल्नु स्वभाविक नै हो । सबैभन्दा ठुलो कुरा आफु बलियो भएपछि आफु दृढ भएपछि, आफ्नो योजनाहरु लागु भएपछि कसले हस्तक्षेप गर्ने ?  हामी केही गर्दैनौं बाहिर मात्र देखाउने अनि हरेक कुरा विदेशीलाई भन्छौं । आफुलाई पर्दा चाहिँ विदेशीलाई ल्याउने अनि पछि चाहिं राष्ट्रवादी बनेर ठुलाठुला भाषण गरेर पाईन्छ ? गठबन्धनहरुलाई हेर्ने छिमेकी मुलुकको दृष्ट्रिकोण शशंकित हुँदैहुन्न । अलिकति आफ्नो स्वार्थमा तलमाथि हुन्छ कि भन्ने मात्र कुरा हो । जो आएपनि उनीहरुलाई खासमा केही हुँदैन । यहाँ जुनसुकै गठबन्धनको सरकार भएपनि एउटै छिमेकी मुलुकसँग साँठगाँस गर्छु भनेर सम्भव हुँदैन । हामी धेरै नै नजिक भएका हुनाले मात्र छिमेकीहरुलाई चासो हुन्छ । यहाँ अस्थिर हुन्छ कि, अन्य बाहिरी शक्तिहरु यहाँ आउँछन् कि भन्ने चासो हुनु स्वभाविक हो । यो सबै नेपालीहरुको सँस्कार नै बसीसक्यो, आफ्नो सत्ता चलाईराख्न, आफु टिकीराख्न विदेशीलाई गाली गर्ने । जनताको नजरमा विदेशीलाई दोषी बनाउने र आफु जोगिने मात्र हो । यो सबै आफु टिक्नका लागि मात्रै हो । आफ्नो गल्ती ढाकछोपका निम्ति मात्रै विदेशीको हात रहेको देखाईदिएका हुन् राजनीतिक दलहरुले ।

एउटा काम गर्दा छिमेकीलाई चित्त बुझेन भने भन्छ, आफु विरोधी भयो कि भन्ने । यहाँको भौगोलिक अवस्थाले पनि काम गर्न निकै गाह्रो छ । तर पनि हरेक कुरामा आफु संयमित भएर बोल्ने, सबै कुरा विचार गर्नुपर्ने गर्नुपर्छ नि । हामी भारतसँग हरेक कुरामा सम्बन्धित छौं त्यसकारण पनि उनीहरुको प्रभाव छैन भन्ने हुन्न तर यति नजिक भैसकेको कारणले यो त सामान्य कुरा हो । आफुले आफु कसरी बलियो बन्ने भन्ने त सोच्नुपर्यो नि । आफ्नो रणनीतिहरु बनाउदा आफु सक्षम हुनुपर्यो ।

जुनसुकै सरकार आएपनि मुलुकमा असन्तुलित परराष्ट्रनीति चलाउन सक्दैनन् । यो चलाउन पनि हुन्न । यसले मुलुकको हित पनि गर्दैन । कुनै पार्टीहरुले आफु अनुकुल पार्न सक्दैन । केही अलिकति आफ्नो शैलीअनुसार जनतालाई मख्ख पार्ने हुनसक्ला तरपनि तात्विक रुपमा सम्भव हुन्न ।

 

प्रतिकृया

प्रतिकृया