-सुदेश पराजुली/


इतिहासलाई फर्केर हेर्दा
इतिहास भनेको विगत प्रति व्यक्ति वा समाजको वर्तमान दृष्टिकोण हो । अर्थात हामीले वर्तमानको आँखाबाट विगतप्रति गरिने बिश्लेषण नै इतिहास हो ।
यहाँ उल्लेख गरिने इतिहास भनेको विद्यार्थी आन्दोलनको हो । राणाहरुले आफ्ना सन्तानका लागि स्थापना गरेका दरबार हाइस्कुल र तिनधारा पाठशालामा सबै जनताका छोरा छोरीले अध्ययन गर्न पाउनुपनर्छ भनेर गंगालालले माग गरेपछि विद्यार्थी आन्दोलनको उठान थियो । बि.स. २००४ सालको जयतु संस्कृतम आन्दोलनले नेपालभित्रै शास्त्री परिक्षा दिन पाउने व्यवस्था, संस्कृत मात्र नभएर विज्ञान, भुगोल, अर्थशास्त्र र गणित जस्ता बिषय पनि पाठ्यक्रममा समावेश गरेर अध्ययनको क्षेत्रलाई व्यापक बनाउनुपर्ने माग थियो । यसलाई नै पहिलो संगठित विद्यार्थी आन्दोलन मानिन्छ ।

यद्यपी अहिले भने विद्यार्थी संगठनहरु आफ्नो मुल ध्येयबाट बिमुख बन्दै गएको आरोप लागिरहेको छ । यस्तो आरोपलाई चिर्दै गुणस्तरिय, वैज्ञानिक र सर्व सुलभ शिक्षा प्राप्तिका लागि पहल कदमी गर्ने गहन जिम्मेवारी हाम्रो काँधमै छ ।

त्यस लगत्तै राजनीतिक स्वतन्त्रताका लागि विद्यार्थीहरुले आवाज उठाउन थाले । सो अवधीमा राष्ट्रियताका सवाल र संगठन खोल्न पाउनुपर्ने माग बुलन्द भएको थियो । पछि अनेरास्ववियु र नेपाल विद्यार्थी संघहरुको जन्म भयो र ती दुबै संगठनको स्थापना राजनीतिक स्वतन्त्रतासँगै गाँसिएको थियो । २०२८ सालमा तत्कालिन पञ्चायती सरकारले ल्याएको नयाँ शिक्षा नीतिका विरुद्ध पनि विद्यार्थी संगठनहरुले ठुलै बिरोध र संघर्षका कार्यक्रम सञ्चालन गरेका थिए ।

निर्दलिय पञ्चायत विरुद्धको आन्दोलन चलिरहेका बेला राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए । त्यतिबेला विद्यार्थी संगठनहरुले राजनीतिक दलको पुरकका रुपमा काम गर्थे । राजनीतिक स्वतन्त्रताको पक्षमा जनतालाई जागृत गराउने प्रयास गर्र्थे । प्रजातन्त्र कुण्ठित थियो, जनतालाई बोल्ने अधिकार थिएन, तर विद्यार्थीहरुले विश्वविद्यालय र क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गरेर प्रजातन्त्रको अभ्यास गरे । अर्थात संगठित विद्यार्थी आन्दोलन र स्वतन्त्र विद्यार्थी युनियनको स्थापना राजनीतिक स्वतन्त्रता प्राप्तिको आन्दोलनसँग जोडिएर भएको हो । तथापी यी दुबै मञ्चहरुले गुणस्तरिय र वैज्ञानिक शिक्षा प्राप्तिका एजेण्डाहरुलाई पनि बुलन्द रुपमा उठाइनै रहेका थिए ।

यद्यपी अहिले भने विद्यार्थी संगठनहरु आफ्नो मुल ध्येयबाट बिमुख बन्दै गएको आरोप लागिरहेको छ । यस्तो आरोपलाई चिर्दै गुणस्तरिय, वैज्ञानिक र सर्व सुलभ शिक्षा प्राप्तिका लागि पहल कदमी गर्ने गहन जिम्मेवारी हाम्रो काँधमै छ ।

कहाली लाग्दो वर्तमान

प्रत्येक दिन १८०२ जना नेपाली युवा विदेशिने गरेका छन् । तीनैले पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्र धानिएको तथ्य कतै छिपेको छैन् ।
आर्थिक बर्ष २०७३/७४ मा ६ लाख ५८ हजारले श्रम स्विकृति लिएका छन् । श्रम स्विकृति लिनेमध्ये अधिकांश युवा विदेशीने गरेका छन् । यसरी विदेशीने नेपालीहरु अधिकांश १८ देखि ४० बर्ष उमेर समुहकै रहेको देखिन्छ । श्रम स्विकृति लिनेमध्ये ३ लाख ६५ हजार मेनपावर मार्फत, बाँकी व्यक्तिगत र रि इन्ट्रीका कामदार छन् । पाखुरामा बल भएकाहरु बिदेशिने क्रम नरोकिएसम्म देशले तात्विक रुपमा विकासमा फड्को मार्न सक्दैन् । त्यसो त विदेशीने युवाहरुलाई अर्ध दक्ष वा दक्ष जनशक्तिका रुपमा विकास गरेर मात्र पठाउन सक्ने हो भने जोखिम र आम्दानी दुबै वृद्धि हुनेछ ।

ब्रेन ड्रेन
नेपालबाट काम गर्न सक्ने १८ देखि ४० बर्ष उमेर समुहका युवा मात्रै बाहिरिएका छैनन् । शिक्षित भनिएका विद्यार्थीहरु पनि अध्ययनका नाममा धेरै बाहिरिने क्रम बढेको छ । गत आर्थिक बर्षमै अध्ययनका लागि ५० हजार ६ सय ५९ जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ३२ हजार चार सय ८९ विद्यार्थीले आवेदन दिएकोमा यस वर्ष त्योभन्दा १८ हजार एक सय ७० जना बढी विद्यार्थीले यस्तो पत्र लिएका छन् ।

यस्तो पत्र लिने ५० हजार ६ सय ५९ जनामध्ये झन्डै आधा अर्थात् २४ हजार दुई सय ३३ विद्यार्थीले अस्ट्रेलियाका लागि निवेदन दिएका छन् । अस्ट्रेलिया जान चाहने विद्यार्थीले नो अब्जेक्सन लेटर लिएर मात्र भिसा आवेदन गर्ने व्यवस्था छ । अस्ट्रेलियाका लागि भिसा आवेदन गर्दा ५६० अस्ट्रेलियन डलर अर्थात् करिब ४५ हजार रुपैयाँ शुल्क लाग्छ । यसरी अस्ट्रेलियाको मात्रै हिसाब गर्दा करिब एक अर्ब बिदेसिएको छ । तर, भिसा भने ९ हजार चार सय ६२ ले प्राप्त गरेका छन् ।

दोस्रो गन्तव्य जापानका लागि १० हजार चार सय १६ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । जापानमा भिसा लागिसकेपछि मात्र प्रति विद्यार्थी दुई हजार नौ सय १० रुपैयाँ शुल्क लाग्छ । जापानका लागि ९५ प्रतिशत आवेदन सफल रहेको कन्सल्टेन्सी व्यवसायीको बताउँछन् । १० हजार विद्यार्थीको भिसा लाग्दा २९ करोडको हारहारीमा पैसा विदेश गएको छ ।
गत आर्थिक वर्षमा तीन हजार ४८३ जनाले अमेरिकाका लागि नो अब्जेक्सन लेटर लिएका छन् । ती विद्यार्थीको भिसाका लागि मात्र २० करोड २० लाखको हारहारीमा रकम बाहिरिएको छ । अमेरिकामा भिसा लागिसकेपछि नो अब्जेक्सन लेटर लिने व्यवस्था छ ।

यसरी पाखुरामा बल भएका युवाहरु पसिना बगाउन खाडी जान बाध्य छन भने विद्यार्थीहरुको विदेश मोह पनि उस्तै ढंगले बढिरहेको छ । कामकाजी जनशक्ति र देश निर्माणका लागि योजना बनाउन सक्ने भनिएको शिक्षित जनशक्ति झन सधैंका लागि देश छाड्ने मनस्थितीमा पुग्नु भनेको देशका लागि दुर्भाग्यको बिषय हो र देश बनाउँछौं भन्नेहरुका लागि ठुलै चुनौती हो ।

देश बिर्सने रोग
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने कुरा बेठिक होइन । तर उनीहरु उच्च शिक्षा लिएर नेपाल आउन भन्दा पनि उतैको स्थायी बसोबासको व्यवस्था मिलाउन उद्यत हुने गरेका छन् । अमेरिका, जापान वा युरोपका बिभिन्न मुलुकहरुमा उच्च शिक्षा अध्ययनका लागि जानेहरुले सोही मुलुकको स्थायी बसोबासका लागि पहल गर्छन् । आजकल प्लस टु अध्ययन गरिरहेका विद्यार्थीलाई अब के गर्ने ? भनेर सोध्दा सहजै जवाफ आउँछ–पढ्न विदेश जाने ।

विदेशमा पढिसकेपछि के गर्ने भन्ने प्रश्न थप्दा उनीहरुको उत्तर आउँछ–उतै स्थायी बसोबासका लागि आवेदन दिने ।
यसरी पाखुरामा बल भएका युवाहरु पसिना बगाउन खाडी जान बाध्य छन भने विद्यार्थीहरुको विदेश मोह पनि उस्तै ढंगले बढिरहेको छ । कामकाजी जनशक्ति र देश निर्माणका लागि योजना बनाउन सक्ने भनिएको शिक्षित जनशक्ति झन सधैंका लागि देश छाड्ने मनस्थितीमा पुग्नु भनेको देशका लागि दुर्भाग्यको बिषय हो र देश बनाउँछौं भन्नेहरुका लागि ठुलै चुनौती हो ।

लेखक पराजुली अनेरास्ववियु केन्द्रिय कमिटी सचिव हुन् ।

प्रतिकृया

प्रतिकृया