–टंककला तिमिल्सेना


७ मंसिर,काठमाडौँ । मुलुकको राजधानी यति बेला सबैभन्दा प्रदुषित छ भन्दा अतियुक्ती नहोला । सडकलाई सफा बनाउने जिम्मेवारी पाएका सरोकारवालाहरु जनताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गरिरहेका छन । दिनहुँ सर्वसाधरण राजधानीको उकुसमुकुस वातावरणमा काम गर्न बाध्य छन । विश्वका राजधानीलाई हेर्ने हो भने त्यहाँ सबैभन्दा सफा र सुग्घर हुन्छ तर नेपालमा हेर्ने हो भने यहाँ सबैभन्दा प्रदुषित र बस्न अयोग्य जस्तै छ हाम्रो राजधानी । राजधानीलाई प्रदुषित बनाउने त्यस्ता फ्याक्टरहरु के-के हुन ? त्यसले कस्तो असर पार्दैछ र यो समस्याको समाधानका विषयमा यसरी केलाउन सकिन्छ ।

के हो वायु प्रदुषण ?
वायुमण्डलमा अक्सिजन, कार्बनडाई अक्साइड, कार्बन मोनो अक्साइड,नाइट्रोजन आदि ग्यासहरु एक निश्चित अनुपातमा रहेका हुन्छन् । यिनै ग्यासहरुविचको अनुपात सन्तुलनमा समस्या आउँदा देखापर्ने समस्यालाई वायु प्रदुषणको अवस्था भनिन्छ । वायुमा रहेका कार्बन मोनो अक्साइड, हाइड्रोकार्बन लगायतका ग्यासहरु माटो तथा धुलो धुवाँका कण हुन् जसले वायुलाई प्रदुषित बनाउँछ ।

काठमाडौँ उपत्यकामा वायु प्रदुषणको अवस्था

नेपालमा वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ अनुसार धुलो पीएम २.५ अर्थात ४० माइक्रोग्राम भन्दा बढी हुनु हुँदैन । यसैगरि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनु हुँदैन तर काठमाडौँ उपत्यकामा वर्षायाम अर्थात फागुन देखि श्रावण महिना सम्म पनि धुलो ५ माइक्रोग्राम सम्म पुग्ने गर्दछ भने यो मात्रा हिउँदको समयमा अझै बढी हुन्छ । वातावरण विभागका अनुसार काठमाडौँ उपत्यकामा हालको वायु प्रदुषण अवस्था मापदण्ड भन्दा करिब ४ गुणा बढि छ । खुल्ला आँखाले धुलो धँुवा देखिन्छ तर मात्रा मापन गर्न सकिदैन त्यसैले वास्तवमा काठमाडौँ उपत्यकाको वायु प्रदुषण अवस्था कस्तो छ जान्न वातावरण विभागले उपत्यकाका विभिन्न ६ वटा स्थानमा वायु प्रदुषण मापक यन्त्रहरु जडान गरेको छ । यि नै यन्त्रको हालको रिपोर्ट हेर्ने हो भने मानिसहरुको अत्याधिक चहल पहल हुने काठमाडौँ महानगरपालिका क्षेत्र रत्नपार्कमा ३० माईक्रोग्राम धुलो देखिएको छ ।

रत्नपार्कमा रहेको धुलो मापन यन्त्रले धुलोको मात्रा ३० माइक्रोग्राम देखाईरहदाँ शंखपार्क क्षेत्रमा मात्रा अझै बढी छ । यन्त्रको मापनका अनुसार यस क्षेत्रमा ५६ माइक्रोग्राम धुलो छ । यसैगरि वीरेन्द्र सैनिक विद्यालय आसपासको क्षेत्रमा धुलोको मात्रा ७९ माइक्रोग्राम छ भने भैसेपाटी आसपास क्षेत्रमा ५० माईक्रोग्राम धुलो रहेको छ ।

किन बढ्दैछ काठमाडौँ उपत्यकामा वायु प्रदुषणको मात्रा ?

सामान्य कारण— कचौरा आकारको वनावट

चारै तिर पहाडहरुले घेरेको र विचमा समथर रहेको भुभाग हो काठमाडौँ उपत्यका । जसको प्रकृतिक वनावट कचौरा आकारको छ । कचौरा आकारको भएकै कारण उपत्यकामा उत्पन्न भएका र विभिन्न माध्यमद्धारा उपत्यका बाहिरबाट भित्रिएका वायु प्रदुषणका कारक धुँलो, धुवा लगाएतका तत्वहरु त्यति सजिलै उपत्यका बाहिर निस्कन सक्दैन् । यो एउटा पक्ष हो काठमाडौँको वायु प्रदुषण बढ्दै जानुको ।

वायु प्रदुषण हुनुको मुख्य कारणहरु

नम्बर १ — पेट्रोलियम पदार्थबाट गुड्ने गाडीले उत्पादन गरेको धुवाँ

एक अध्ययनले देखाएको छ । काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थबाट गुड्ने गाडीले उत्पादन गर्ने धुलाले वायु प्रदुषण गर्न ३८ प्रतिशत सहयोग गर्दै आएको छ । एक तथ्याङक छ नेपालभरि सवारी साधनमा प्रयोग हुने पेट्रोल खपतको करीब ४५ प्रतिशत भाग र डिजेल खपतको करीब १५ प्रतिशत भाग काठमाडौं उपत्यकामा हुने गर्छ । सडक विभागका अनुसार काठमाडौँमा १ हजार ५ सय ९४ किलोमिटर सडक छ । यि सडकहरुमा दैनिक करिब ७ लाख भन्दा बढी सवारी साधनहरु गुड्ने गर्छन् ।काठमाडौंको सडक तथा बाटाहरुमा गुड्ने विभिन्न प्रकारका करिब ७ लाखभन्दा बढी सवारी साधनले नै यतिको मात्रामा इन्धन खपत गरिरहेका हुन् । सवारी साधनले प्रयोग गर्दै आएको डिजेल तथा पेट्रोलमा भएका रसायनबाट उत्पन्न हुने धुवाँले वायुलाई प्रत्यक्ष प्रभाव पार्छ ।

नम्बर २ — विकास निर्माणका कार्यबाट उत्पादन भैरहेको धुँलो

काठमाडौँ उपत्यकाका धेरैजसो ठाउँहरुमा सडक मर्मत, विस्तार तथा स्तरसुधारका कामहरुका साथै अन्य विकास योजनाका कामहरु पनि भैरहेका छन् । जसका कारण सडकहरु अस्तव्यस्त मात्र होईन धुलाम्य नै देखिन्छन् । झट् हेर्दा धुलोले कुहिरो लागेको जस्तै देखिन्छन् सडकहरु । सडकमा यसरी उडिरहेको धुलोले काठमाडौँको वायु प्रदुषण गर्न २५ प्रतिशत सहयोग गर्दै आएको छ ।

नम्बर ३ — फोहोर र कृषिजन्य पदार्थ जलाउदाँ निस्कने धुवाँ

काठमाडौँ उपत्यकावासीले आफुले उत्पादन गरेको फोहोर व्यवस्थापन गर्न सडकको छेउमा फोहोर थुपार्ने मात्र होईन फोहोरलाई जलाउने समेत गर्छन् । यसरी जलाईएका फोहोरबाट उत्पादन हुने धुवाँले काठमाडौँको वायु प्रदुषणको अवस्थामा १९ प्रतिशत सहयोग गर्दछ । फोहोर जलाउने कार्य देखि दाउरा बाल्दा निस्कने धुवाँको मात्रा पनि यसैमा मापन गरिएको छ ।

नम्बर ४ — इटट भट्टाबाट निस्कने धुवाँ

वायु प्रदुषणका प्रमुख स्रोतहरु मध्येको एक औद्योगिक क्षेत्र पनि हो । औद्योगिक क्षेत्र मध्ये इट्टा भट्टाले पनि धुवाँ उत्पादन अत्याधिक गर्छ । इट्टा भट्टाबाट उत्पादित धुवाँले काठमाडौँको वायु प्रदुषण बढाउन ११ प्रतिशत सहयोग गर्दै आएको छ । यसैगरि अन्य विभिन्न मानव क्रियाकलापहरुबाट पनि वायु प्रदुषण भैरहेको हुन्छ । अन्य कारणमा ७ प्रतिशत हिस्सा रहेको छ ।

वायु प्रदुषणका असरहरु

वायु विना कुनैपनि जिवको परिकल्पना गर्न सकिदैन । कुनैपनि जिव जिवित रहनकालागि पहिलो आवश्यकता श्वास प्रश्वास कार्य हो । जिवहरु मध्येको एउटा प्रजाति हो मानिस । त्यसैले मानिसको पहिलो र प्रत्यक्ष सम्बन्ध वायुमा पाईने अक्सिजन ग्याससँग हुन्छ । मानिसले श्वास लिदाँ अक्सिजन ग्यास शरिर भित्र प्रवेश गराउद छ र शरिर भित्र रहेको कार्बन्डाइ अक्साइट ग्यास वायुमा छोड्छ ।
एउटा मानिसले एक दिनमा औसत २० हजार पटक श्वास लिने गर्दछ । २० हजार पटक श्वास लिईरहदाँ मानिसले ३५ पाउण्ड वायु प्रयोग गर्ने गर्छ । यतिका मात्रामा प्रयोग हुने वायु नै स्वच्छ भएन भने मानिसको स्वास्थ्यमा असर नपर्ने कुरै भएन ।
वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा पर्ने असरहरु २ प्रकारका छन् ।

१. अल्पकालिन असर — मुटु रोग विशेषज्ञ डा. ओम मुर्ति अनिलका अनुसार अल्पकालिन असर भन्नाले एकै दिन वा छोटो अवधिमा कुनैपनि व्यक्तिले प्रदुषणको मात्रा धेरैनै खेप्नु प¥यो भने आउन सक्ने जोखिम बुझिन्छ । खोजिम यति सम्म हुन्छ कि दिन भर ठिक ठाक देखिने मानिसको राति हृदयघातका कारण मृत्यु समेत हुन सक्छ । जोखिम भएको भन्नाले रक्तचाप, मधुमेह, मुटु रोग, कोलस्ट्रोल अर्थात रगतमा बोसोमा मात्रा धेरै भएका व्यक्तिहरु बुझिन्छ ।

२. दिर्घकालिन असर — डा. अनिल भन्नुहुन्छ । वायु प्रदुषणका कारण मानव

स्वास्थ्यमा दिर्घकालिन असर पनि पर्छ । दिर्घकालिन असर भन्नाले रक्तनलीमा रगत जम्ने समस्या, मुटु रोग, हृदय घात, फोक्सोमा समस्या, मष्तिस्कमा समस्या, क्यान्सर रोग र दम रोग लगाएतका समस्याहरु देखापर्नु हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्ययनले देखाएको छ नेपालमा मानिसको मृत्युका प्रमुख पाँच कारण यि हुन् ।

नम्बर १—मुटु रोग सम्बन्धी समस्या
नम्बर २— झाडा पखाला र निमोनियाको समस्या
नम्बर ३— श्वास प्रश्वासको दिर्घ रोग अर्थात दमको समस्या
नम्बर ४— एच्. आई. भि÷ एड्स र क्षय रोग
नम्बर ५— क्यान्सर रोग

वायु प्रदुषणको प्रत्यक्ष असर सबै वर्ग तथा उमेर समुहका मानिसमा पर्छ छ यसलाई नकार्न सकिदैन तर प्रदुषणको प्रमुख शिकार हुने गर्छन — ३० देखि ६० वर्ष उमेर समुहका मानिसहरु । डा. अनिलको भनाई छ ।

विश्व बैंकको तथ्यांक अनुसार नेपालमा बर्सेनी २२ हजार जनाको मृत्यु वायु प्रदुषणका कारण नै हुन्छ । तथ्यांकमा उल्लेख छ धुलोको मात्रा पीएम २.५ बाट प्रभावित हुनेमध्ये ७० प्रतिशतको मृत्यु उच्च रक्तचाप, मुटु तथा मधुमेह जस्ता रोगबाट हुन्छ भने १६ प्रतिशत मानिसमा फोक्सोको समस्या र १४ प्रतिशतमा क्यान्सरको समस्या आउँछ ।

यता सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको अध्ययन अनुसार नेपालमा वायु प्रदुषणकै कारण एक वर्षमा नौ हजार नौ सय ४३ जनाको मृत्यु हुने गरेको छ ।

मानवसृजित गतिविधिकै कारण वायु प्रदुषण गर्ने तत्वहरु उत्पादन भइरहेको छन् । सवारी साधन, फोहोर जलाउने प्रवृति, औद्योगित कलकारखाना, विकास निर्माणका कार्य लगाएतका क्षेत्रबाट उत्पन्न हुने धुलो र धुवाँले काठमाडौँमा नयाँ नयाँ समस्याहरुलाई निम्तो देखिन्छ । काठमाडौंको वायुमा विश्वका अन्य उच्च बायु प्रदुषण भएका सहरमा पाइने रसायन वा तत्वबाहेक नयाँ रसायन पनि पाइएको अध्ययनले यस कुराको पुष्टि गर्छ ।

पछिल्ला वर्षहरुमा वायु प्रदुषण न्युनिकरण गर्न भन्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले अभियान चाल्दै आएका छन् तर समस्या २० देखि १९ हुनुको साटो २० देखि २४ बनेको विभिन्न समयमा सार्वजनिक हुदै आएका प्रदुषण सम्बन्धी अध्ययनहरुले प्रष्ट पारेका छन् । त्यसैले काठमाडौंलाई प्रदुषणमुक्त बनाउन गैरसरकारी संस्था, सरकारी निकाय वा अन्तरराष्ट्रिय क्षेत्रको नजर भएर मात्र पुग्दैन । नागरिक तहबाट पनि उत्तरदायित्व पूरा गर्नु आवश्यक देखिन्छ साथै वायु प्रदुषण उच्च हुदै जाँदा यसले काठमाडौंको प्राकृतिक स्वरुप र जीव विज्ञानमा पार्ने असर सबैको चासो बन्न जरुरी देखिन्छ ।

प्रतिकृया

प्रतिकृया