९ मंसिर, काठमाण्डौं । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले इरानका सर्वोच्च नेता अलि खामेनीलाई ‘मध्यपूर्वको नयाँ हिटलर’ को संज्ञा दिएका छन्।

देशका रक्षामन्त्री समेत रहेका सलमानले इरानलाई सन्तुष्ट पार्न नसकिने पनि चेतावनी दिएका छन्।

‘सन्तुष्ट बनाउने नीति काम लाग्दैन भन्ने कुरा हामीले युरोपको अनुभवबाट हामीले सिकेका छौँ,’ न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा सलमानले भनेका छन्, ‘युरोपमा जे भयो, त्यो नयाँ हिटलरले मध्यपूर्वमा दोहोर्‍याओस् भन्ने हामी चाहन्नौँ।’

इरान र साउदी अरबबीच लामो समयदेखि तिक्तता कायम छ। दुवै देशले एकअर्कालाई आफूविरुद्ध षड्यन्त्र गरेको, आतंकवादलाई प्रोत्साहन गरेको लगायतका आरोप लगाउँदै आएका छन्।

पछिल्लो समय साउदी नेतृत्वमा कतारमाथि नाकाबन्दी लगाइएपछि इरानले कतारलाई सहयोग गरेको थियो।

यमनमा सन् २०१४ देखि इरान र साउदी अरबबीच छद्म युद्ध कायम छ। इरानले हुथीहरुलाई सहयोग गरिरहेको छ भने तिनीहरुमाथि साउदी अरबले बम वर्षा गरिरहेको छ।

यसै महिनाको सुरुमा लेबनानी प्रधानमन्त्री साड अल हरिरीले साउदी अरबबाटै इरानमाथि आरोप लगाउँदै राजीनामा दिएपछि इरान र साउदी अरबबीच अर्को मोर्चा खुलेको छ।

हरिरीले साउदीको दबाबमा राजीनामा दिएको आशंका गरिएको छ। तर फ्रान्स हुँदै मंगलबार पुनः लेबनान पुगेपछि हरिरीले आफ्नो राजीनामा रद्द गरेका छन्। एजेन्सी

प्रतिकृया

प्रतिकृया