हेड्लाईन सम्वाददाता
पौष २५, काठमाण्डौ- भारतीय दूतावास काठमाण्डौ र हिन्दी केन्द्रीयविभाग त्रिभुवन विश्वविद्यालयले विश्वहिन्दी दिवसका अवसरमा आयोजित एक कार्यक्रममा ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी भाषामा प्रकाशित ‘उत्कृष्ट कहानियाँ’को पुस्तक विमोचन तथा सार्वजनिक गरिएको छ ।

सामान्य प्रशासन तथा सङ्घीयमामिलामन्त्री हृदयेश त्रिपाठी, नेपालका लागि भारतीय कार्यवाहक राजदूत डा. अजयकुमारबाट संयुक्त रुपमा पुस्तकको विमोचन गरिएको छ । त्यस्तै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान, बाह्रखरी मिडियाका प्रवन्धनिर्देशक ज्ञानेश्वर आचार्यको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा सङ्घीयमामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भूगोल नहुने बताए । ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद ‘उत्कृष्ट कहानियाँ’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सीमाले नरोक्ने पनि बताएका छन् ।

मन्त्री त्रिपाठीले नेपाल एक बहुभाषी बहुसांस्कृतिक र बहुजातीय विविधता भएको देश भएकाले भाषा र संस्कृतिमा समृद्ध भएको बताए । नेपाल भूगोलले सानो भएपनि भौगोलिक, सामुदायिक, सांस्कृतिक विविधताले ठूलो र सम्पन्नदेश भएको उनले बताए ।

त्रिपाठीले हिन्दी भाषा र नेपाली भाषा दुबै भाषाको उद्गम संस्कृत भएकाले सभ्यता एउटै भएको बताए । परस्पररुपमा नेपाली साहित्यहरु हिन्दीमा अनुवाद हुनु र हिन्दी साहित्यहरु नेपालीमा अनुवाद हुनुले दुई देशलाई सीमाले छुट्याए पनि भाषा, संस्कृति र सभ्यताको दृष्टिले सीमालाई पनि पार गरेको बताए ।

नेपाली साहित्यका शिखरपुरुष विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत-नेपाल फाउण्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन गरिएको हो ।

कार्यक्रममा नेपालका लागि भारतीय कार्यवाहक राजदूत डा. अजयकुमारले नेपाल र भारतलाई भाषाले बलियोसँग जोडेको बताए । दुबै भाषाको लिपि देवनागरी हुनु र संस्कृति एउटै हुनु यसको बलियो आधार भएको उनले बताए ।

‘भाषाको यही समानताले दुबै देशका जनतालाई जोडेर राखेको छ,’ उनले भने,’ जसरी जनकपुरधाम र अयोध्या, पशुपति र काँशी, लुम्बिनी र बोधगया जोडिएका छन् । त्यसैले भाषा र संस्कृतिको परिणाम नै नेपाल-भारत सम्बन्धको सूत्र हो ।’

यो पुस्तक नेपालको भूगोल, भाषाभाषी, संस्कृति र सम्प्रदायको मौलिकता र आञ्चलिकता जोड्ने सङ्ग्रहसमेत भएकाले हिन्दी भाषामा अनुवाद हुँदा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन टेवा पुग्ने बताइएको छ ।

प्रतिकृया

प्रतिकृया