हेड्लाईननेपाल
चैत्र १२, काठमाण्डौ- नेपालमा कोरोना भाईरसको सङ्क्रमण देखिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि चीनसरकारले नेपाललाई सहयोग गर्ने कुटनीतिक माध्यममार्फत् पत्र लेखेकोमा अब सहयोग पनि छिट्टै आउने भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

यद्यपि हालै चीनले चेकगणतन्त्रलाई पठाएको भाईरस टेष्ट कीटको रिपोर्ट ८० प्रतिशत गलत आएपछि नेपालमा पनि सहयोगमा आउने कीटको गुणस्तरताको शङ्का उब्जेको छ ।

चीनले चेकगणतन्त्रलाई पठाएको कीटको ८० प्रतिशत गलत रिपोर्ट आएको भनी, त्यहाँको अनलाईन समाचार प्रकाशित भएपछि अहिले सामाजिकसञ्जालमा प्रयोगकर्ताले चीनबाट सहयोगस्वरुप आउन लागेको कीटको विश्वासनीयतामा प्रश्न उठाएका छन् ।

यसरी प्रश्न उठाउनेमा पत्रकारदेखिलिएर समाजसेवी र चिकित्सकहरु समेत रहेका छन् । अझ चिकित्सकहरुले चीनले उपलब्ध गराउन लागेको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र कीट विश्व स्वास्थ्य सङ्गठनबाट स्वीकृतिप्राप्त नभएको हुँदा त्यसले दिने रिपोर्ट र स्वास्थ्यकर्मीको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

यस्ता उपकरण विश्व स्वास्थ्य सङ्गठनबाट स्वीकृतिप्राप्त हुनुपर्ने भएपनि आपतकालीन अवस्थामा चीन आफैंले परीक्षण गरी प्रयोगमा ल्याएको छ ।

यद्यपि चीनको प्रस्ताव आएसँगै नेपालले पत्रसाथ आवश्यक सामाग्री, औषधि र सहयोगको सुची पठाएको छ । विदेशी मुलुकहरुबाट आवश्यक औषधी र स्वास्थ्य सामग्रीहरु ल्याउनका लागि मन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा एक कार्यदलसमेत बनिसकेको छ ।

मन्त्री ज्ञवालीले भारत र चीनसहित अन्य मुलुकबाट आवश्यक सामग्री ल्याउनका लागि पहल भईसकेको बताएका छन् । तर चीन, भारत वा अन्य मुलुकबाट कहिले कुन सामग्री नेपाल भित्रिन्छ भने हालसम्म टुङ्गो लागि नसकेको बताएका छन् । उनले छिटोभन्दा छिटो चीनबाटै आवश्यक स्वास्थ्य सामग्री नेपाल आइपुग्ने बताए ।

प्रतिकृया

प्रतिकृया