|  

नेपालको सुन्दरता, विशिष्टता र मौलिकता

पुरुषोत्तम पौडेल, पूर्वयुवा तथा खेलकुदमन्त्री- नेपाल संसारमा सबभन्दा सुन्दर देश हो । मलाई यस्तो लाग्छ । यस्तो मलाईमात्र लागेको होईन, धेरै नेपालीहरूलाई यस्तै लागिरहेको छ । आफ्नो देश भएरमात्र नेपाल सुन्दर लागेको पनि होईन, संसार घुमेर हेर्दासमेत त्यस्तै अनुभव हुन्छ । बाँकी संसार घुमेर आउने साथीहरूले पनि त्यही महशुस गर्नुभएको छ । साँचोअर्थमा नेपाल प्रकृतिले गरेको अनुपम रचना हो । मैले पनि अनुपम प्राकृतिकसुन्दरताले भरिएको देश नेपालमा जन्मने अवसर पाएँ । कञ्चनपुरको छेउदेखि कञ्चनजङ्गासम्म आरामले घुम्ने अवसर पाएँ । धन्य यो प्रकृतिलाई । धन्य छ विधिको विधानलाई ।

सुन्दरदेश नेपालको एउटा साधारण गाउँलेकिसानको घरमा जन्मिएर मैले देशभरिको सुन्दरता हेर्न पाएँ । त्यतिमात्र होईन संसारका केही चुनिएका सुन्दर देशहरू घुम्ने अवसर पनि पाएँ । अलि किशोरअवस्थामा दैनिक किनमेल गर्न र बोर्डरसँग जोडिएका गाउँतिर घुम्न जाँदा ईण्डिया जानु पर्दथ्यो । ईण्डियातिरका साथीहरूसँग कुरा हुँदा 'नेपाल खुब सुन्दर देश है'भन्ने गर्थे । नेपाल गुराँसको फूलजस्तै सुन्दर छ । नेपालको हिमाल, पहाड, तराई सबै राम्रो छ भन्थे । हामी छक्क पर्थ्यौं । यिनीहरू हामीलाई राम्रो भनेर उसै फुलाउन खोज्छन् जस्तो पनि लाग्थ्यो । तर कुरा त्यसो होईन रहेछ । जब नेपालका प्राय: सबै भूभाग घुम्ने र सबैतिरको प्रकृति र संस्कृतिलाई चुम्ने अवसर मिल्यो । नेपालआमाको अनुपम सुन्दरताको सम्पूर्ण अनुभूतिले मन्त्रमुग्ध बनायो ।

२०५१ सालमा बारा ३ बाट प्रतिनिधिसभासदस्य भएँ । एसियाका सुन्दर र विकसितदेश थाईल्याण्ड र श्रीलङ्का घुम्ने अवसर पाएँ । नेपालसँग कतिपय संस्कृति मिल्ने देश रहेछन्, थाईल्याण्ड र श्रीलङ्का । पहिलो त, दुबै देश बुद्धधर्मप्रति अगाध आस्था राख्दा रहेछन् । दोश्रो स्वस्ती या नमस्कार दुबै देशको शालीन संस्कृति रहेछ । दुबै देशको प्राकृत भाषासंस्कृत नै रहेछ । यीबाहेक पनि थुप्रै समानता रहेछन् । दुबै देशमा भ्रमणका क्रममा थुप्रै प्रतिष्ठित व्यक्तित्वहरू भेटिनुभयो । सबैको नजरमा नेपालजति सुन्दर देश अरू रहेनछ । जतिले नेपाल भ्रमण गरिसकेका थिए । सबैजना यात प्राकृतिक रूपले यात संस्कृतिसँग जोडिएर नेपालको बखान गरेर थाक्दैनथे । हामीलाई बहुत गर्व महशुस हुन्थ्यो ।

२०७० सालमा दोश्रोपटक संविधानसभामा चुनिन पुगे । संयोगले देशको युवा तथा खेलकुदमन्त्री पनि हुने अवसर पाएँ । त्यसक्रममा खेलकुदका थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिने अवसर पाएँ । संसारभरिका धेरै खालका खेल व्यक्तित्वहरूसँग कुरा गर्ने अवसरप्राप्त भयो । चीन, जापान, कोरिया र रूसी महासङ्घसहित एसिया र युरोपका थुप्रै सुन्दरदेश घुम्ने अवसर पाईयो । जब कुरा नेपाली र नेपालको सुन्दरताको आउँथ्यो । सबका सब मित्रहरूको सकारात्मक प्रतिकृया सुन्दा गर्व लाग्थ्यो । नेपाल धेरै सुन्दरदेश हो । नेपाल कहिल्यै पराधिन नभएको देश हो । नेपाल प्राकृतिकहिसाबले अतुलनीय देश हो । अझ नेपाल सांस्कृतिक हिसाबले विविधतासहितको एकताको नमुनादेश हो । नेपालीजनता अत्यन्तै मायालु छन् । सोचेभन्दा धेरै दयालु छन् । नेपालीहरू सँधै हँसिला/रसिला देखिन्छन् । अतिथिसत्कारमा पोख्त छन् ।

'अतिथि देवो भव:' नेपालीहरूको संस्कार हो । जुन सुनिरहन मनलाग्ने प्रतिकृया पाईन्थ्यो ।

हामी अरूको देशसँग लोभलाग्दो बनेका हुन्छौं । आर्थिकरूपले धनी देश धेरै छन् । मानवनिर्मित सुन्दरदेश अरू नै छन् । अरू देशमा पनि अनेक सुन्दरता नभएको होईन । हामीलाई जस्तो प्रकृतिले दिएको सुन्दरता अरूसँग छैन । प्रकृतिले हामीलाई जति छाँटकाँट मिलाएर अरूलाई सुन्दरता दिएन,जस्को कि- नर्वे, डेनमार्क, फ्रान्स इत्यादी । स्वीट्जरल्याण्ड पनि प्राकृतिकभन्दा बढी मानवनिर्मित सुन्दरताले कहलिएको देश हो । तर नेपालको जत्तिकै प्राकृतिक, जैविक तथा सांस्कृतिक विविधता विल्कुल छैन । एकैदिनमा हिमाल, पहाड, तराई तिनै तहको प्राकृतिकसुन्दरता तथा वातावरणीय आनन्दको मज्जा लिन सकिने एकमात्र देश नेपाल हो । केही घण्टाको यात्रापछि खपीनसक्नु गर्मीबाट उल्का जाडोको मज्जा लिन पाइने सुन्दर देश नेपाल हो । केही घण्टाको फरकमा सन्तुलित र प्राकृतिक एयर कण्डीसनमा बस्छुभन्दा पनि पाईने देश नेपाल हो । यस्तो प्राकृतिक विविधता र सामिप्यताको मेल भएको देश सम्भवतः नेपाल नै होला ।

नेपाल पूर्वीयसंस्कृतिको उद्गमस्थल हो । पूर्वीयदर्शनको आधार ग्रन्थ चारै वेदका लेखक वेदव्यासको सम्बन्ध पवित्र नेपालीभूमिसँग छ । शैव संस्कृतिको केन्द्र नेपाल, शङ्करजीको वासस्थान हो । वैदिकमान्यतानुसार तेत्तीसकोटी देवी-देवताको शीर नेपाल हो । कैयौं ऋषिमुनिहरूको तपोभूमि नेपाल, पशुपतिनाथको आश्रम पनि हो । नेपालमा मुक्तिनाथधाम, देवघाटधाम, वडिमालीका, रामारोशन, खप्तड, स्वर्गद्वारी, हलेसी, पाथीभरा, लुम्बिनी, कङ्कालीमाई, गढिमाई, सलेह, छिन्नमस्तासहित जानकीमन्दिरजस्ता ऐतिहासिक सांस्कृतिककेन्द्रहरू छन् । भनिन्छ, नेपालमा जति घरहरू छन् त्यति मन्दिर छन् । जति जनता बस्छन, त्यती नै देवता छन् । नेपाल देवी-देवता र वैदिकयुगका कथाहरू को आधार भूमि पनि हो । नेपाल संसारभरि शान्तिको सन्देश छर्ने महात्मा गौतमबुद्धको जन्मभूमि हो । यस्ता अपार वैभव र ऐश्वर्य हामीसँग कति छन्, कति बुझ्न बाँकी नै छ ।

वैदिकयुगकी आदर्शनारी सीता (जानकी माता)को जन्मभूमि नेपालकै जनकपुरधाम हो । आदि रामायणका लेखक ऋषि वाल्मीकिआश्रम देवघाटनजिकै छ । हामीसँग यस्ता थुप्रै वैदिक तथा सांस्कृतिक मौलिकताहरू छन् । जसको काउण्टर संसारको कुनै पनि देशसँग छैन । नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक हिसाबले अनेकौ विशेषता र मौलिकताको धनीदेश हो । नेपालसँग जोडिएका किवदन्ती र कथाहरू नै दुनियाँलाई पढाउन काफी छन् । नेपालीभूमिको परिचयको निम्ति यस्ता यावतकुरा छन्, जस्को वर्णन एउटालेखमा सम्भव छैन । हामी यिनलाई संरक्षण तथा प्रवर्द्धन गर्न प्रयासमात्र गरिरहेका छौं ।

सगरमाथा नेपालको मुकुट हो । सागरमाथा संसारको सर्वोच्चशिखर पनि हो । संसारका सबभन्दा अग्ला हिमालमध्ये सातवटा अग्लाहिमाल नेपालमा पर्दछन । महाकाली, कर्णाली, भेरी, राप्ती, गण्डकी र सप्तकोशीजस्ता ठूलानदीहरू नेपालमा छन् । त्रिशुली, बाग्मती, विष्णुमती र कालीगण्डकीजस्ता धार्मिक सांस्कृतिकनदीहरू नेपालका धरोहर हुन् । मुगुको राराताल, कास्कीको फेवा र वेगनासताल, संसारको सबभन्दा अग्लोस्थानमा रहेको तिलिचोतालसहित ताल-तलैयाहरूको सुन्दरताले भरिपूर्ण देश हो नेपाल । संसारमा दुर्लभ ठानिएका यार्सागुम्बा, केशर, रुद्राक्ष, बोधीचित्तजस्ता जडीबुटी नेपालमा पाईन्छन् । संसारकै सुन्दरचरा डाँफे नेपालको राष्ट्रियचरो हो । संसारकै अनौठोजनावर एकसिङ्गो गैंडा नेपालमा मात्र पाईन्छ । नेपाल अन्त कही कल्पना नभएको हिममानव यतिको भूमिको रूपमा समेत परिचित छ ।

नेपालमा थुप्रै यस्ता मौलिक चिजहरू छन, जो अन्त कतै पाईदैंन । संसारमा कतै नभएको कला संस्कृति नेपाल र नेपालीहरूसँग छन् । १० दिनसम्म विभिन्न देवीहरूको पुजा गरेर मनाइने बडादशैं पर्व, पाँचदिनसम्म कागदेखि कुकुरसम्म, गाईदेखी भाईसम्मलाई सम्मान गरेर मनाइने तिहारपर्व, तराईको विशेषता छठीपर्व, नेवारसमुदायको किजापुजा र कुमारीप्रथासहित जल, जमिन र सूर्यजस्ता प्रकृतिपुजाका अनौठा परम्पराहरू नेपालमा पाईन्छन । पूर्वीनेपालको उधौली-उभौली, मध्यक्षेत्रमा पाईने दोहरी, बेठी र रोधी अनी पश्चिमनेपाल गाइने देउडागीतको अनौठो संगम हो, नेपाल ।

विविधताले भरिएको नेपालमा संसारकै सुन्दर र मौलिक रहन-सहन, भेष-भुषा तथा पहिरहनहरूको भण्डार छ । दौरा-सुरूवाल र टोपी नेपालको राष्ट्रियपोशाक हो । चिटिक्क ढाकाटोपी हेर्ने वित्तिकै संसारले नेपाली भनेर सहजै चिन्दछन् । हामी नेपालीहरूको बीचमा शयभन्दा बढी मौलिकभाषाहरू छन् । देशमा ७० भन्दा बढी जनजाति छन् । सबै जनजातिका अलग-अलग मौलिक भाषा, संस्कृति र परम्परा छन् । सबैका आफ्नै मौलिकसंस्कार छन् । बरू हामी हाम्रो अपूर्वमौलिकता भुल्दै गएका छौं । हामी हाम्रो मौलिकसंस्कृति बिर्सदैछौं । हाम्रा मौलिक खानपिनका तरिका छन् । मौलिकखालका घर-कटेरा, बस-उठ, सर-सफाई, श्रद्धा-सम्मान र बोलीचालीहरू छन् । तिनीहरूलाई विस्तारै भुल्दै गईरहेका छौं ।

त्यसैगरी खेलकुदमा पनि हामी अरूबाट अलिबढी नै प्रभावित हुँदैछौं । हाम्रा मौलिक खालका मनोरञ्जनसाधनहरू भुल्दै गईरहेका छौं । हामी नेपालीहरू अरूको नक्कल गर्नमा मस्त मौला हुँदैछौं । हाम्रा समाजमा स्थापित वैवाहिकपरम्परा र त्यस्ता विवाहकार्यक्रमहरूमा गाईने दोहोरी श्लोकको छुट्टै मज्जा छ । लोकदोहरी गाउने र दोहोरीखेलेर हारजीतका आधारमा घर बसाउनेसम्मका संस्कार अझै जीउँदै छन् । भजनसङ्गीत हाम्रा मौलिकसंस्कृतिका धरोहर हुन् । संसारमा नभएका बिनायो, मुर्चुङ्गा, कर्नाल, र पञ्चेबाजा हाम्रा विशुद्ध मौलिकबाजाहरू हुन् । यिनलाई संरक्षण र प्रवर्धन गर्न हाम्रो ध्यान पुग्नु जरूरी छ ।

नेपालका विशिष्टखालका मौलिकखेलहरू छन् । द्वन्द्व, युद्ध या कुस्ती हाम्रो समाजको सबभन्दा पूरानोशक्ति परीक्षण गरेर मनोरञ्जन लिने खेल थियो । कुस्ती अहिले पनि हाम्रो समाजमा लोकप्रीय खेलको रूपमा छ । तराईका गाउँघरमा साँझ कुस्ती खेलेर मनोरञ्जन लिने परम्परा कायम छ । अहिले पनि मेला जात्रा र सामाजिक, सांस्कृतिक कार्यक्रमहरूमा कुस्ती (दङ्गल) खेल्ने र खेलाइने प्रचलन ज्युँदै छ । नेपालीसमाजमा खेलिने मौलिकखेलहरूमध्ये घरभित्र खेल्नसकिने खेलहरूमा बाघचाल, बुद्धिचाल, खोपी, जादु देखाउने र दोहरीगीत प्रतियोगिता पर्न सक्दछन् । हाम्रा मौलिकखेलहरूको संरक्षण र विकास गर्न हामीले ध्यान पुर्याउन आवश्यक छ ।

यसैगरी घरबाहिर खेलिने मौलिकखेलहरूमा तीरधनुष, भकुण्डो, तरबार-बाजी, कुस्ती, लट्ठी, डण्डीवियो, कपर्दी, दौड र डोरी तानातान आदि खेलहरू छन् । यसमध्ये तीरधनुष अर्थात आर्चरी खेल अहिले ओलम्पिकखेलमा पनि समावेश छ । तरबार-बाजी खेल पनि नयाँढङ्गले ओलम्पिकमा समेत खेलिन्छ । कुस्तीखेल पनि सबै अन्तराष्ट्रियप्रतियोगिताहरूमा खेलिने लोकप्रीय खेल हो । डण्डीवियो र कपर्दी विगतमा नेपालको राष्ट्रियखेल थियो । अहिले भलिबललाई देशको राष्ट्रीयखेल घोषित गरिएको छ । देशको घोषित राष्ट्रियखेलमा राज्यको यथेष्ट ध्यान जानु जरूरी हुन्छ ।

नेपालको भूगोल अति नै सुन्दर छ । नेपालको प्राकृतिक बनोट अनुपम छ । यहाँको प्राकृतिकसुन्दरताको बयान गरेर साध्य छैन । नेपालको संस्कृति र परम्पराको संसारमा कसैको जोड छैन । स्वयम् हामी नेपालीहरूले भने आफ्नो सुन्दरता गुमाउँदै गएका छौ । हामी

'वसुधैव कुटुम्बकम' र 'अतिथि देवो भव' संस्कारमात्र होईन । 'संगगच्छध्वम संगवदध्वम' संस्कारलाई पनि अमल गर्न बिर्सन थालेका छौं । हामीले प्रकृतिले दिएको अनुपम सुन्दरता र सांस्कृतिक गौरवलाई मात्र बुझेर देशहितमा लगाउन सकेपनि चमत्कार हुनसक्छ । यो चमत्कार हामी नेपालीहरू मिलेर मात्र गर्न सक्छौं । यतातिर निसङ्कोच अग्रसर हुन सबैमा सद्बुद्धि आओस् । जय-जय होस् ।।