|  

सिद्धलेक गाँउपालिकाका जनप्रतिनिधीलाई धम्की दिएको आरोपमा राधे भण्डारी पक्राउ

२३ असोज,काठमाडौं  - धादिङको सिद्धलेक गाँउपालिकाका जनप्रतिनिधिहरलाई धम्की दिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय धादिङले राधे भण्डारीलाई पक्राउ गरेको छ ।

गत बर्षको सिद्धलेक गाँउपालिकाको आन्तरिक आय ठेक्कापट्टाको म्याद समाप्त भएपछि पनी गाँउपालिका क्षेत्र भित्रबाट अवैध तरिकाले बालुवा निकाल्ने गरेको भन्दै गाँउपालिकाले त्यसो नगर्न निर्देशन दिंदा उल्टै गांउपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको भन्दै गाँउपालिका अध्यक्षको जाहेरीको आधारमा आज राधे भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता डिएस्पी लोकनाथ तिमल्सिनाले बताए ।

डिएस्पी तिमल्सिनाका अनुसार पक्राउ परेका भण्डारीमाथी अर्काको नाममा ठेक्का पारेको, ठेक्कापट्टाको म्याद समाप्त भएपछि पनी गाँउपालिका क्षेत्र भित्रबाट अवैध तरिकाले बालुवा निकालेको र जनप्रतिनिधिलाई धम्की दिएको आरोप लागेको छ । 

अहिले भण्डारीलाई शान्ती सुरक्षा भंग गरेको आरोपमा मुद्धा दर्ता गर्ने तयारी भएको डिएस्पी तिमल्सिनाले जानकारी दिए । 

उनी नेपाली काँग्रेस निकट नेपाल तरुण दल धादिङका जिल्ला उपाध्यक्ष समेत हुन् ।