|  

त्रिवि उत्तरपुस्तिका नष्ट प्रकरण : एसएसपी ज्ञवालीविरुद्व आईजीपीसमक्ष उजुरी

२४ असोज,काठमाडौं - त्रिविको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, परिसरका एसपी सोमेन्द्र सिंह राठौर र मुद्दा शाखाका डीएसपी देवि प्रसाद पौडेलविरुद्व उजुरी परेको छ । 

स्नातकोतर भौतिकशास्त्र अन्तर्गत क्वान्टम मेकानिक्सका विद्यार्थी आशिष पौडेलले एसएसपी ज्ञवालीसहितका प्रहरी अधिकृतविरुद्व प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री समक्ष उजुरी दिएका हुन् । रातोपाटीलाई प्राप्त उजुरी विवरण अनुसार ज्ञवाली सहितका प्रहरी अधिकृतलाई कारवाहीको माग गरिएको छ । 

उजुरीमा त्रिभुवन विश्वविद्यालयले नियमविपरित उत्तरपुस्तिका धुल्याएको घटनाको अनुसन्धान, तहकिकातका अतिरिक्त आवश्यक प्रमाण संकलन नगरी प्रहरीले तामेलीमा राखेको आरोप लगाइएको छ । उजुरीमा भनिएको छ, ‘आवश्यक प्रमाण बुझाउँछु भन्दासमेत बुझ्नुपर्ने पक्ष म जाहेरवालासमेतलाई नबुझी सूचना लुकाई शक्तिशाली मानिस अभियुक्त रहेकाले अनुसन्धान नगरी तामेलीमा राखेर लाचारीपन देखाइएको छ ।’

सर्वोच्च अदालतको आदेशविरुद्ध हतारमा उत्तरपुस्तिका नष्ट गरेको प्रकरणमा एसएसपी ज्ञवालीले ‘यो सामान्य विषय हो, उजुरीकर्ता आफै थाक्छन्’ भनेर हल्का रुपमा लिएपछि अहिले सो विषय पेचिलो बनेको छ । 

‘भदौ २१ गते एसएसपी ज्ञवालीले जाहेरी दरखास्त दर्ता गर्न मानेन् । त्यसपछि हुलाकबाट पठाउँदा पनि उनले दर्ता गरेनन् । दर्ता गर्न नमानेपछि सरकारी वकिलको कार्यालयमा गएर उजुरी गरेपछि मात्रै असोज ९ गते जाहेरी दरखास्त दर्ता गरी कारबाही गर्न आदेश थियो,’ विद्यार्थी पौडेल बताउँछन् ।