|  

चीनले नेपाली भूमि मिचेको कांग्रेस संसदीय टोलीको निष्कर्ष : प्रमाणसहित प्रतिवेदन पेश गर्ने तयारी

२५ असोज,काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकालेको छ ।

हुम्लाबाट निर्वाचित कर्णाली प्रदेशका सांसद जीवन बहादुर शाहीको नेतृत्वमा उक्त गत टोली असोज १४ गते सीमा क्षेत्रको अनुगमनका लागि गएको थियो । सीमा क्षेत्रबाट अध्ययन तथा अनुगमन गरी टोली १० दिनपछि हिजो शनिबार सदरमुकाम सिमकोट पुगेको थियो । 

स्थलगत अनुगमनबाट फर्किसकेपछि सो टोलीले नेपाली भूमि मिचेको निष्कर्ष निकालेको हो ।

आफ्नो सीमा मिचेको थाहा हुँदाहुँदै पनि सरकार भने सीमा नै मिचिएको छैन् भन्ने विषयमा टोलीले आपत्ति जनाएको छ । अध्ययनको प्रतिवेदन प्रमाणसहित बुझाउने टोलीको तयारी गरेको छ । भूमि विवादबारे सरकारले कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने टोलीले निष्कर्ष निकालेको छ ।

टोलीका अनुसार सीमामा ५ र ६ नम्बर पिल्लरमा समस्या देखिएको छ । सो पिल्लरहरुमा केरबार समेत गरिएको पाइएको छ । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ लाप्चामा केही समय अघि चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने समाचार हेडलाईन नेपाल लगायतका मिडियाले बाहिर ल्याएको थियो ।

उक्त समाचारपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सीमाको स्थलगत अनुगमनका लागि लाप्चा क्षेत्रमा पुगेको थियो । सो टोलीले सीमामा ११ नम्बरको पिल्लर फेला पारेको थियो । तर सरकारले भने चीनले सीमा अतिक्रमण नगरेको दावी गर्दै आएको छ । उता चीनले पनि आफूले नेपाली भूमि अतिक्रमण नगरेको बताउँदै आएको छ ।