|  

निर्मला पन्त हत्या प्रकरण स् पत्रकार खेम भण्डारी विरुद्धको मुद्दा आज सुनुवाई हुँदै

२६ असोज, कञ्चनपुर -  कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा जथाभावी बोलेको, समाचार लेखेको र सामाजिक सञ्जालमा गाली, बेइज्जती गरेको आरोपमा मुद्दा खेपिरहेका कञ्चनपुरका पत्रकार खेम भण्डारीको मुद्दा आज सोमबार सुनुवाई हुँदैछ ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको इजलाशमा मानसखण्ड दैनिकका पत्रकार भण्डारीको पेशी तोकिएको छ । भण्डारीविरुद्ध मृतक निर्मला पन्तका साथी बम दिदीबहिनी रोशनी र बबिता, महेन्द्रनगरका मेयर सुरेन्द्र विष्टका भतिज आयुष, तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण र वकिल विनोद भट्टले गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

मुलुकी अपराध संहिताको दफा ३०६ का अनुसार सामाजिक सञ्जालमा कसैको चरित्रमाथि नै धक्का पुग्नेगरी गाली, बेइज्जती गर्नेलाई २ वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था उल्लेख छ । तर पत्रकार भण्डारीले विद्युतीय माध्यमबाट गाली, बेइज्जती गरेका कारण उनलाई थप एक वर्ष कैद थप गरी ३ वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ ।

एसपी विष्टका छोराले आफूविरुद्ध मानसखण्ड अनलाइनमा हुँदै नभएको कुरा प्रचार गरेको भन्दै पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए । 

उनले दायर गरेको मुद्दामा भनिएको छ, ‘पत्रकार भण्डारीले फेसबुक र अनलाइनमार्फत् आफूविरुद्ध गाली बेइज्जती गरेकाले आफ्नोे इज्जतमा धक्का पुगेको, व्यक्तिगत एवं पारिवारिक चरित्र, आचरण, नैतिकतामा असर परी मेरो सामाजिक प्रतिष्ठामा गम्भीर प्रभाव परि मेरो शैक्षिक, सामाजिक जीवनमा असर पुगेको छ ।’