|  

ललिता निवास जग्गा प्रकरण : ७ आरोपितलाई साधारण तारेखमा रिहा गर्न आदेश

२६ असोज काठमाडौं - बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आरोप खेपि रहेकाहरुलाई विशेष अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । 

विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र बालेन्द रुपाखेतीको इजलासले सोमबार ७ आरोपीलाई तारेखमा समेत नराख्ने गरी रिहा गर्न आदेश जारी गरेको हो ।

रिहा हुनेहरमा सर्मिला शाक्य बज्राचार्य, रेणुका बज्राचार्य, प्रविन ताम्राकार, अच्युतराज राज श्रेष्ठ, सरिता मानन्धर श्रेष्ठ, सन्ध्या शाक्य र गीता खनाल रहेका छन् । यसका साथै सोही प्रकरणमा मुछिएका पूर्वमन्त्री एवं तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई विशेष अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अख्तियारले उनीहरुलाई जग्गा जफतको प्रयोजनका लागि विपक्षी बनाइएको थियो ।

सरकारले सरकारी जग्गा व्यक्तिको बनाएको आरोपमा तीन पूर्वमन्त्री, अख्तियारका पूर्व पमुख आयुक्त, पूर्वसचिवहरू, भुमि सुधार कार्यालयका कर्मचारी, मालपोत कार्यालयका कर्मचारी, जग्गा खरिद विक्री गर्नेहरुसहित ११० जनालााई विपक्षी बनाएको थियो । 

आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगले २०७६ माघ २२ गते नेपाली कांग्रेसमा महामन्त्री विजयकुमार गच्छदारसहित भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध पनि मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध मुद्दा दायर भएपनि अहिलेसम्म उनीहरु अदालतमा उपस्थित भने भएका छैनन् । 

हालसम्म सो प्रकरणमा ४५ जनाभन्दा बढी आरोपित अदालतमा उपस्थित भइसकेका छन् ।