|  

चक्रपथ विस्तारको दोस्रो चरणलाई गति दिँदै सरकार, यस्तो छ एक महिनाको नयाँ कार्यतालिका

काठमाडौं । सरकारले दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी—महाराजगन्ज धोबीखोला खण्ड विस्तार कार्यलाई तीव्रता दिने तयारी गरेको छ । केही समययता कोरोना भाइरसलगायतका कारण विस्तारमा ढिलाइ हुँदै आएकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले विस्तारको काम तीव्र पार्ने पहल अगाडि बढाएका छन् ।

मन्त्री नेम्वाङको पहलमा एक महिनाभित्र घर भत्काउने र प्रसारण लाइनको टावर सार्नेबाहेकका साइट क्लियरेन्सको काम सक्ने गरी कार्यतालिका तय गरिएको छ ।

चक्रपथ विस्तारको दोस्रो चरणका कामलाई तत्काल गति दिन विभिन्न चार निर्णय भएको मन्त्री नेम्वाङको सचिवालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा भएको सरोकारवालाको बैठकले नेपाल विद्युत् प्राधिकरणले कात्तिक मसान्तभित्र सबै पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सकाउने र पुस मसान्तभित्र कारखाना चोक र सानोभ-याङस्थित हाइ भोल्टेज टावर सार्ने तालिका तय गरेको छ । राजधानी दैनिकबाट