|  

लोकसेवा विवाद: कोरोना संक्रमितले परीक्षामा सहभागी हुन नपाउने मापदण्ड सच्याउन नेविसंघको माग

२८ असोज, काठमाडौं । लोकसेवा आयोगले संक्रमणको विशेष अवस्थामा (सञ्चालन या व्यवस्थापन) सम्बन्धी मापदण्डमा कोरोना संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश नै नपाउने व्यवस्था गरेपछि विवाद सिर्जना भएको छ। आयोगले परीक्षार्थी कोभिड–१९ को संक्रमणबाट संक्रमित भएको भए परिक्षा दिन नपाउने नियम ल्याएपछि नेविसंघले आपत्ति जनाउँदै मापदण्ड परिवर्तन गर्न माग गरेको हो । 

मापदण्डमा परीक्षार्थी आफू कोभिड–१९ को संक्रमणबाट संक्रमित भए, नभएको स्वयंले घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ। संक्रमित परीक्षामा सहभागी हुन नपाउने र स्वयंले संक्रमित भए नभएको घोषणा गर्नुपर्ने व्यवस्थाको आलोचना भइरहेको छ। 

कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी बन्न नपाउने र शिक्षक सेवा आयोगको  प्रदेशको शिक्षा विकास निर्देशनालयबाट मात्रै अध्यापन अनुमतिपत्र वितरण गर्ने  निर्णयका सम्बन्धमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को गम्भीर ध्यानाकर्षण भएको छ। संघका महामन्त्री बलदेव तिमल्सिनाले बुधबार एक विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोभिड–१९ संक्रमितहरू सहभागी हुन नपाउने गरी ल्याएको मापदण्ड अन्यायपूर्ण भएको बताए ।

विज्ञप्तिमा भनिएको छ - कोरोना संक्रमित हुनु आफैंमा अपराध होइन, संक्रमित भएकैमा परीक्षा दिन पाउने हकबाट वञ्चित गर्नु चाहिँ अपराध हो ।  विद्यमान उमेर हदको प्रावधान बमोजिम आयोगको तयारी गरेको साल परीक्षा दिन नपाउँदा विद्यार्थीको जीवनवृत्ति प्रभावित हुने मात्र होइन सरकारी जागिरको ढोका नै बन्द हुने अवस्था तर्फ सरकार गम्भीर बन्नु पर्दछ  ।

परीक्षार्थीहरूले अदालत र संसदीय समितिसमेत गुहारेका छन्। जटिल र जोखिमपूर्ण परिस्थितिमा आयोगको परीक्षा सञ्चालन नगर्न माग गरेका छन्। सरोकारवालाका तर्फबाट भन्दै राज्य व्यवस्था तथा सुशासन समितिसमक्ष परीक्षार्थीहरूले परीक्षा तत्काल रोक्न लगाउन निर्देशन दिन माग गरेका छन्। 

परीक्षा सञ्चालनको लागि लोक सेवाले विज्ञापन प्रकाशित गरी परीषा तालिकासमेत सार्वजनिक गरिसकेको छ। आयोगको  २०७६ साल फागुन २८ गते प्रकाशित राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको विज्ञापनहरूमा अनलाइन दरखास्त भरी दरखास्त दस्तुर बुझाउन बाँकी रहेका उम्मेदवारहरूका लागि २०७७ असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म दरखास्त दस्तुर बुझाउने म्याद तोकिएको छ।