|  

आगामी कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द हुने : सरकार अग्रसर भएकै हो

२८ असोज,काठमाडौं - आगामी कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए सरकारले  विदेशी च्यानल बन्द गर्ने भएको छ

सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड विज्ञापनमुक्त हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ । त्यसो नभएमा कानूनअ बमोजिम हुने मन्त्रालयले बताएको छ।  कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्ने बताएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोकर्णमणि दुवाडी विदेशी च्यानलमा क्लिन फिड भएरनभएको अनुगमन गर्न सूचना तथा प्रसारण विभागमा प्राविधिक संयन्त्र विकास गरिसकेको बताउँछन् ।

२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो । ऐनमा भनिएको छ(ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभत्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।

प्रवक्ता दुवाडीका अनुसार ऐनमै व्यवस्था भएकाले माग भए बमोजिम क्लिन फिड लागू हुने समयसीमा सार्न सकिने अवस्था छैन । ‘असारमा डाउनलिङ्क अनुमति नवीकरण गर्दा सबै च्यानलले तोकिएको सयममा क्लिन फिडमा जाने शर्त स्वीकार्नुभएको छ,’ उनले भने, ‘यसबाट कोहीपछि हट्छ भने कानुनअनुसार च्यानलको प्रसारण रोकिन्छ ।’

नेपाल सरकारले क्लिन फिड लागू गर्न चाहेको निकै भयो । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूमा क्लिन फिड गरिदिन भारतीय च्यानल तथा अपरेटरहरूसँग नेपालका केबल, आईपीपी, डीटीटी, डीटीएचलगायत प्रविधिमार्फत टेलिभिजन सेवा प्रदान गर्ने टेलिभिजन अपरेटरहरूले माग गरिरहेका छन् ।

केबल टेलिभिजन सेवा प्रदायक संघका अध्यक्ष पराजुली न्युज च्यानलमा विज्ञापन रोक्न कठिन हुने बताउँछन् । न्युज च्यानलका स्क्रिनका विभिन्न भागमा विज्ञापनहरू राखिने र विज्ञापन गर्ने समय पनि यकिन नहुने भएकाले न्युज च्यानलमा क्लिन फिड गर्न सम्भव नहुने उनले बताए ।

खेलकुद च्यानलहरूको प्रत्यक्ष प्रसारणमा पनि समस्या पर्नसक्ने देखिएको छ । तर खेलकुद च्यानललाई व्यवस्थापन गर्ने आश्वासन भारतीय प्रसारकहरूले दिएका छन् ।

भारतीय प्रसारकले नेपालमै क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिनेछ । त्यो समयमा नेपालकै विज्ञापन राख्न पाउनुपर्ने माग नेपाली टेलिभिजन सेवा प्रदायकहरूले गरेका छन् । तर संसदको विकास तथा प्रविधि समितिले नेपाली टेलिभिजनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै क्लिन फिड गरिएका विदेशी च्यानलमा नेपालको विज्ञापन बजाउन नपाउने प्रबन्ध गर्न निर्देशन दिएको छ ।

क्लिन फिड लागू भएपछि नेपालमा प्रसारण हुने विदेशी च्यानल घट्ने छन् । डाउनलिङ्क अनुमति लिएर जथाभावी च्यानलहरू प्रसारण गर्ने गरिएकोमा अब क्लिन फिड नगरिएका च्यानलहरू स्वतः रोकिनेछन् । धेरै भारतीय च्यानलहरू नेपालमा क्लिन फिडमा खर्च गर्न इच्छुक छैनन् ।