|  

टेलिकमको चाडवाड अफर: अब ५५ रुपैयाँमै फेसबुक र युट्युव अनलिमिटेड चलाउन मिल्ने

२८ असोज, काठमाडौं ।  चाडबाडको समयलाई लक्षित गर्दै नेपाल टेलिकमले विभिन्न अफर  ल्याएको छ । कम्पनीले अनलिमिटेड युट्युव र फेसबुक चलाउन मिल्ने गरी नयाँ अफर ल्याएको हो । 

बिहीबारदेखि तीन महिनासम्म लागु हुने गरी कम्पनीको मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध विभिन्न प्याकेजलाई थप परिमार्जन गरी अटम अफर ल्याइएको छ । जसअन्तरगत नयाँ प्याकेजको रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ ।

यसमा तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युट्युव अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै रुपमा उपलब्ध हुने जनाइएको छ ।

यी अफर खरिद गरेपछि सहुलियतस्वरुप १५ रुपैयाँमा तीन दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने गरी एक जिबी डेटाको एड अन प्याक समेत खरिद गर्न सकिनेछ ।

त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ । यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् ।

त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत रुपमा कायम रहने छन् ।

यसअघि ‘वान डे डेटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध हुने गरेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी उपलब्ध हुने गरेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ ।

वान डे डेटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोलुम पनि पहिले भन्दा बढी बनाइएको छ । यस अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १५ रुपैयाँमा २५० एमबी डाटा पाउन सकिनेछ ।

यसैगरी टेलिकमले घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ पनि ल्याएको छ । जस अन्तरगत दशैं तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम तथा सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइनेछ ।

यसमा रिचार्ज कार्डबाट ५० को रिचार्ज वा एमपोसबाट २० देखि ५० सम्मको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी पाँच मिनेट बोनस प्राप्त हुनेछ । रिचार्जकार्डबाट १०० रुपैयाँ वा एमपोसबाट ५१ देखि १०० को रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ ।

रिचार्ज कार्डबाट २०० रुपैयाँको वा एमपोसबाट १०१ देखि २०० रुपैयाँको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नमिल्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ ।

यसैगरी, रिचार्ज कार्डबाट ५०० रुपैयाँको वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्मको रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ । साथै, रिचार्ज कार्डबाट १००० रुपैयाँ वा एमपोसबाट १००० हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुनेछ ।

यसका साथै मिति २०७७ कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डेटा एक पटकका लागि निःशुल्क प्राप्त हुनेछ । यसैगरी *444# डायल गरी फोरजी सेवामा सिमकार्ड स्तरोन्नती गर्दा एक पटकका लागि ५०० एमबी ९सबै नेटवर्कमा० र थप ५०० एमबी फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी निःशुल्क प्राप्त हुनेछ ।

यसअघि विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहकले प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । टेलिकमका प्रयोगकर्ताले *1415#  डायल गरी विभिन्न प्याकेज खरिद गर्न सक्नेछन् । साथै टेलिकमको मोबाइल एपबाट समेत प्याकेजहरु खरिद गर्न सकिनेछ ।