|  

पहिलो पटक दाङमा देखिएको ‘सुन्दर सर्प’ स्थानीयले मारिदिए पछी...

२८ असोज, दाङ ।  दाङमा पहिलो पटक फेला परेको अर्नेट फ्लाइङ स्नेक स्थानीयले मारिदिए पछी विगत तीन वर्षदेखि सर्पको उद्धार गर्दै आएका घोराहीका वसन्त सुवेदी निरास बनेका छन् ।

आफू पुग्दा जिल्लामा पहिलो पटक फेला परेको अर्नेट फ्लाईङ स्नेकलाई स्थानीयले मारिसकेको अवस्थामा फेला परेको सुवेदी बताउँछन् ।  मारेको सर्पको लम्बाइ झन्डै डेढ मिटरसम्म लामो रहेको उनले बताए।  

अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्नेक’ भनिने यो सर्प एउटा रूखबाट अर्को रूखमा सहजै हाम फालेरै जाने हुँदा यसलाई सर्वसाधारणले उड्ने सर्प पनि भन्ने गर्छन्।

केही दिन पहिले घोराही उपमहानगरपालिका वडा –२ सुर्केडाँगीमा फेला परेको उक्त सर्प स्थानीयले मारेका हुन् । 

सुवेदीका अनुसार यो सर्पले सोझै बच्चा जन्माउँछ। अन्यथा अधिकांश सर्पले सन्तान उत्पादनका लागि अण्डा पार्ने गर्छन्। 

हेर्दा निकै सुन्दर देखिने यो सर्पको बासस्थान तराईका वन जंगल तथा पहाडी क्षेत्र हो। तर बढी यो सर्प तराईमा पाइने सुवेदीले बताए।

‘कतिपय स्थानीयले यो सर्पलाई देखेपछि भगवान डुमेनी सर्प भनेर पूजा गर्नुपर्ने राय पनि राखेछन्,’सुवेदीले भने ‘सर्प घरको पर्खालमा चढ्न थालेपछि त्यसले मान्छेलाई टोक्छ भन्ने ठानेर स्थानीयले मारिदिए छन्।’

सुर्केडाँगीका एकजनाले उनलाई अनौंठो सर्प देखिएको भनेर उद्धारको लागि फोन गरेर बोलाएको भए पनि आफू बिहान ११ बजेतिर पुग्दा नबुझेर स्थानीयले सर्प मारिसकेको अवस्थामा फेला परेको सुवेदीले बताए।