|  

लोकसेवा आयोगमा ६३८ पदका लागि विज्ञापन खुला, कोरोना संक्रमितका लागि छैन विकल्प व्यवस्था

२९ असोज, काठमाडौं । लोकसेवा आयोगले ६३८ पदका लागि आवेदन खुला गरेको छ । कोरोना संक्रमण बढ्दै गएका बेला आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ । आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको हो ।

सरकारले असोजको पहिलो साता नै आयोगलाई रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आग्रह गर्ने निर्णय गरेको थियो ।

विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरेर ६ सय ३८ पदको विज्ञापन बुधबार गरिएको छ । निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि दर्खास्त खुला गरिएको हो । 

गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ ।

अहिले विज्ञापन गरिएका सहसचिव र उपसचिव पदको लिखित परीक्षा मंसिर अन्तिममा सुरु भएर माघ अन्तिमसम्म चल्नेछ । यसपाली कारोनाका कारण सिटमा एकजना मात्र परिक्षार्थी राख्न पर्ने भएकाले बिहान र दिउसो गरेर दुईओटा सिफ्टमा परिक्षा संचालन हुनेछ । 

आयोगले यसपछि क्रमशस् शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायत पदका रिक्त दरबन्दीहरूको विज्ञापन पनि खुलाउने जनाएको छ ।

त्यसैअनुसार आयोगले गत चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । 

आयोगले परीक्षामा कोरोना संक्रमित बस्न नपाउने गरी मापदण्ड तयार पारेको छ । कोभिड संक्रमितका लागि वैकल्पिक व्यवस्था नगरिएकामा विरोध पनि भइरहेको छ । संक्रमित विद्यार्थीका लागि अर्को मितिमा वा छुट्टै हल व्यवस्थापन गरेर परीक्षा लिन सम्भव नदेखिएको आयोग प्रशासनले जनाएको छ ।

आयोगका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्डलाई तोकेर परीक्षाको तयारी गरिएको छ । एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् । एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ । एउटा बेन्चमा एक जना परीक्षार्थी मात्रै हुनेछन् । 

परीक्षा हलमा प्रवेशपूर्व विद्यार्थी स्वयंले आफूलाई कोभिड संक्रमण भएरनभएको घोषणा गर्नुपर्ने मापदण्डमा भनिएको छ । 

परीक्षार्थी तथा परीक्षा गराउन खटिने जनशक्तिले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने परीक्षा व्यवस्थापन मापदण्डमा उल्लेख छ ।

विज्ञापनको लागि यहाँ क्लिक गर्नुहोस्