|  

कोरोनाको कारण धादिङको नीलकण्ठ नगरपालिकाको सेवा ठप्प

३० असोज,धादिङ - जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना पुष्टि भएपछि धादिङको नीलकण्ठ नगरपालिकाको सेवा ठप्प पारिएको छ ।

हिजो बिहिबार नगरपालिकाले एक सूचना जारी गर्दै असोज २५ गते कोभिड १९ जाचँको लागि थ्रोट स्वाव संकलन गरि पठाइएकाहरु मध्ये बुधबार नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु सहित ९६ जनामा संक्रमण देखिएकाले बिहिवारदेखी नगरपालिकाको अत्यावश्यक बाहेकका सवै सेवा बन्द गरिएको जनाएको छ ।

संक्रमित कर्मचारीहरुको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ रिपोर्ट नआउन्जेल सम्मको लागि नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवा र नगरपालिकाबाट सञ्चालित मेडिकललाई अर्को सूचना नआएसम्मको लागि बन्द गरिएको समेत सूचनामा भनिएको छ ।

त्यस्तै हालसम्म नीलकण्ठ नगरपालिकामा संक्रमितको सङ्ख्या २ सय ८० पुगेको छ । संक्रमित मध्ये १ सय ९ जना निको भईसकेका छन् भने हाल सक्रिय केशको सङ्ख्या १ सय ५४ रहेको नगरपालिकाले जनाएको छ । 

त्यस्तै नीलकण्ठ नगरपालिकामा मात्र कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भैसकेको छ।