|  

उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा भर्चुअल अनलाइनबाट हुने

३० असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन भर्चुअल अनलाइनबाट हुने भएको छ। महासंघको सभा मंसिर ११  र १२ गते काठमाडौंमा तय भएको छ। साधारणसभा अनलाइनबाट गर्ने र चुनाव प्रत्यक्ष रुपमा गर्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।  

साधारणसभा उद्घाटनका लागि गृह मन्त्रालयले समेत स्वीकृति दिइसकेको छ। निर्वाचन कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की बैंकेट बबरमहल र महासंघको कार्यालय टेकु गरी ३ स्थानमा हुने भएको छ। 

साधारण सभाको उद्घाटन ११ गते हुनेछ भने १२ गते बन्द सत्र र भ्याए सोही दिन निर्वाचन हुनेछ । नभए १३ गते निर्वाचन गर्ने तयारी गरिएको छ।

यसअघि साउन २६ र २७ गते साधारणसभा गर्ने प्रस्ताव गरिएकोमा मन्त्रिपरिषद्ले समयमा स्वीकृति नदिँदा अन्यौलमा परेको थियो । कोभिडको जोखिम बढेको भन्दै पछि पदाधिकारी बैठकले सो साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । 

गत चैतमा हुनुपर्ने साधारणसभा कोभिड १९ का कारण पटकपटक सर्दै आएको छ । सुरुमा चैत २७ र २८ गतेका लागि तोकिएको साधारणसभाको कार्यक्रम सरकारले देशव्यापी रुपमा आह्वान गरेको लकडाउनका कारण अनिश्चितकालका लागि स्थगित हुन पुगेको थियो । 

महासंघको ५४ औं साधारण सभामा नेतृत्व चयनसमेत हुने भएकाले चुनावी चहलपहल सुरु भइसकेको छ। महासंघका वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।  वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल गरी दुई समूह चुनावी मैदानमा छन्।