|  

भक्तपुर इन्काउन्टर प्रकरण : प्रहरी नियन्त्रण पस्चात् गोली हानेको आयोगको ठहर

३० असोज,काठमाडौं - गत २०७५ साल साउन २१ गते प्रहरीले भक्तपुरका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न दुई जनामाथि भक्तपुरको डोलेश्वर जंगलमा गोली हानेको थियो । त्यतिबेला प्रहरीले डोलेश्वर जंगलमा प्रहरीसंगको दोहोरो भिडन्तको क्रममा अपहरणकारी तामाङद्धय मारिएको बताएको थियो । 

तर राष्ट्रिय मानव अधिकार आयोगले भने भक्तपुर इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीलाई दोषी ठह¥याएको छ । 

मानव अधिकार आयोगको बुधबार बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई नै दोष देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

आयोगका एक अधिकारीका अनुसार बैठकले महाशाखाका एक जना प्रहरी उपरीक्षक एसपी, प्रहरी नायब उपरीक्षक डीएसपी सहित ६ जनालाई कारबाही गर्नुपर्ने भनेको छ । आयोगले त्यसवेलाको वस्तुस्थिति र प्रमाणले भक्तपुर इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको हत्या भएको निष्कर्ष निकालेको उनले बताए । 

प्रहरीले २०७५ साउन २१ गते ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न दुई जनामाथि गोली हानेको भन्दै तत्कालीन महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले डोलेश्वर जंगलमा दोहोरो भिडन्त भएपछि दुई जना अभियुक्त मारिएको प्रतिक्रिया दिएका थिए । 

तर, आयोगको छानविनले तमाङद्वयलाई घरबाट पक्राउ गरेर जंगलमा लगेर हत्या गरिएको पाइएको भनेको छ । यसबाट मानव अधिकारको गम्भिर उल्लंघन भएको बताउँदै कारबाही गर्न भनेको छ ।

यसअघि आयोगले विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टरमा पनि प्रहरीलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।

 तर, प्रकरणमा संलग्न प्रहरी अधिकृतमाथि हालसम्म कारबाही प्रक्रिया अघि बढेको छैन ।