|  

सर्वोच्चको अन्तरिम आदेशपछि कस्तो छ लोकसेवाको तयारी ?

३० असोज,काठमाडौं - सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिइसकेको छ । 

सर्वोच्चले यो आदेश दिएपछि लोकसेवा आयोगले छलफल गर्ने भएको छ । आयोगले आगामी सोमबार छलफल गरेर थप निर्णय गर्ने तयारी गरेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार सर्वोच्चको आदेशपछि लोकसेवा आयोगले अब बैठक बसेर थप निर्णय गर्ने तयारी गरिरहेको छ ।

आयोगले जारी गरेको सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्डको बुँदा नम्बर८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ । यो बुँदामा परीक्षार्थीले आफू कोभिड-१९ सङ्क्रमित भए नभएको स्वयम् घोषणा गर्नुपर्ने तथा सङ्क्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरेको छ ।

त्यसविरुद्ध परेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सङ्क्रमित व्यक्ति परीक्षा दिनबाट बञ्चित हुँदा संविधान प्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको अधारमा विभेद विरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसमेत उल्लंघन हुने ठहर गरेको छ ।