|  

लकडाउनमा पनि महंगो शुल्क असुलेपछि केएमेसी स्कुल घेराउ

३० असोज, काठमाडौं - लकडाउनको अवस्थामा पनि महंगो मासिक शुल्क असुलेको भन्दै अभिभावकहरुले काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुल घेराउ गरेका छन् ।

अभिभावकहरुले कोभिड १९का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् । महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटक(पटक आग्रह गर्दासमेत सुनुवाइ नै नभएको अभिभावकहरुले बताएका छन् ।

अभिभावकहरुले वार्षिक शुल्क तिर्न नसक्ने, अनलाइन शिक्षाको छुट्टै शुल्क निर्धारण हुनुपर्ने र विद्यालयमा अभिभावकको प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरुले कोभिडको अवस्थामा अनलाइन शिक्षाको शुल्क निर्धारण गरी लिनुपर्ने ठाउँमा मासिक शुल्कमै ५०० रुपैयाँ बढाएर लिएको बताएका छन् ।

अभिभावक संघका संयोजक शुभप्रभात घिमिरेले सरकारले अनलाइन शिक्षाको शुल्क निर्धारण नगरिदिँदा विद्यालयहरुले आफूखुसी उठाउने गरेको बताउनुभयो ।  अभिभावकहरुको पेसा, रोजगारी गुमेको अवस्थामा सरकारले सहयोग गर्नुपर्ने ठाउँमा द्वन्द्व सिर्जना गरेको उहाँले बताउनुभयो ।

सरकारले निजी लगानीका संस्थागत विद्यालयमा अनलाइन शिक्षाको शुल्क निर्धारणको जिम्मा स्थानीय तहलाई दिएको थियो ।

असोज दोस्रो साताभित्र शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था गरिएपनि अहिलेसम्म अधिकांश स्थानीय सरकारले शुल्क निर्धारण गर्न सकेका छैनन् ।