|  

नेपालमा कोरोना महामारीको भयावह स्थिति सिर्जना भयो : चिकित्सक संघ

३० असोज,काठमाडौं - नेपाल चिकित्सक संघले नेपालमा कोरोना संक्रमणले भयावहस्थिती सिर्जना गरेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ । 

आज शुक्रवार संघले एक विज्ञप्ति जारी गर्दै महामारी समुदायस्तरमा समेत फैलिसकेको बताएको छ । कोरोना संक्रमणका बिरामीहरु निरन्तर बढिरहेका कारण संघले सरकारलाई अत्यावश्यक औषधिको प्रबन्ध गर्न पनि माग गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थितिको सिर्जन हुन गएकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

संक्रमण बढिरहेका बेला अस्पतालमा बेड, आईसीयू तथा भेन्टिलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक सामग्री अभाव हुन थालेका कारण त्यसमा सरकार संवेदनशील हुनुपर्ने संघको सुझाव छ । साथै यसका लागि सरकारले अबिलम्ब कदम चाल्नुपर्ने पनि संघले माग गरेको छ ।

‘सम्पूर्ण नागरिकको स्वास्थ्य उपचारका लागि उचित वातावरण तयार गर्न एवम् कोभिड–१९ को संक्रमणका लागि आवश्यक पर्ने आईसीयू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधिको सहज उपलब्ध गराउन नेपाल चिकित्क संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।’ बिज्ञप्तीमा भनेको छ ।