|  

थुनामा रहेका आरोपी छुटाइदिन्छु भन्दै ४ लाख घुस लिने हवल्दार दम्पती पक्राउ

३० असोज,बुटवल - थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन्छु भन्दै ४ लाख घुस लिएको आरोपमा प्रहरी हवल्दार दम्पती पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती ४ लाख घुस लिएको आरोपमा अख्तियारको टोलीबाट पक्राउ परेका हुन् । प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार शिवचन्द सहानी र उनकी श्रीमती निर्मला केवट शुक्रबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा गरेको स्टिङ अपेरेसनका क्रममा उनिहरु रंगेहात पक्राउ परेका हुन् ।

 हवल्दार दम्पती रंगेहात पक्राउ परेका अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले पुष्टि गरे । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको समेत भुसालले बताए ।