|  

आईपीएल: टस जितेर कोलकाताले मुम्बईविरुद्ध पहिला ब्याटिङ गर्दै

३० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को ३२औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा कोलकाता कप्तान ओईन मोर्गनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । 

मुम्बईले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर जेम्स प्याटिनसनको स्थानमा अलराउन्डर नाथन कुल्टर नाइललाई मौका दिएको छ । नाइलले तल्लोक्रममा राम्रो ब्याटिङ समेत गर्ने गर्दछन् ।

यता कोलकाताले टोलीमा दुई परिवर्तन गरेको छ । आज कोलकाताको टोलीबाट अष्ट्रेलिया स्पिन अलराउन्डर क्रिस गिनलाई डेब्यु गराएको छ । ग्रिनलाई ओपनर टम ब्यान्टनको स्थानमा मौका दिएको हो । पछिल्लो समय राम्रो प्रर्दशन गर्दै आएका ग्रिनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । त्यस्तै अर्का तीव्र गतिका बलर कमलेश नगरकोटीको स्थानमा शिवम माभीलाई मौका दिएको छ ।

मुम्बई छैटौं र कोलकाता पाँचौ जित निकाल्ने सोचमा छन् । मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । आइपिएलमा यी दुई टोलीबीच कुल २६ खेल भएको छ । जसमा मुम्बई २० खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ ।

मुम्बईको प्लेइङ ११ – रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, नाथन कुल्टर नाइल, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।

कोलकाता प्लेइङ ११ – क्रिस ग्रिन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन (कप्तान), आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर), शिवम माभी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुण चकबर्ती र प्रसिद्ध कृष्ण