|  

आईपीएल: कोलकातालाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा

१ कात्तिक । साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टीट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

कोलकाताका लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे ।

मुम्बईका राहुल चाहरले २ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १र१ विकेट लिए ।

कोलकातालाई हराएसँगै मुम्बई ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ । कोलकाताको यो चौंथो हार हो । ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।