|  

ओलीको निम्तो प्रचण्डद्वाराअस्वीकार : ओलीलाई अर्को तनाव

१ कार्तिक,काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार बिहान संयुक्तरुपमा दुबै पक्षसँग छलफल गर्ने भन्दै निम्तो दिए पनि प्रचण्ड भने बालुवाटार गएनन् ।

पार्टी उच्च स्रोतका अनुसार ओलीले बालुवाटारमा बिहान ११ बजे  नेकपा कर्णालीका दुबै पक्षका सांसदहरुलाई छलफलका लागि बोलाएको र त्यहाँ प्रचण्डलाई पनि आउन गरेको आग्रहको जबाफमा प्रचण्डले ‘पहिले तपाईँ एक्लै आफ्ना साथीहरुसँग छलफल गर्नुहोस्, उनीहरुको कुरा सुन्नुहोस् अनि आवश्यक परे हामी पछि बसौँला, सल्लाह गरौँला,’ भनी जवाफ लगाएका थिए।

ओलीले दुबै पक्षका मुख्यमन्त्री शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, सह इन्चार्ज यामलाल कँडेल, हालै प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, पार्टी सचिव मायाप्रसाद शर्मासँगै अन्य नेताहरु प्रकाश ज्वाला, चन्द्रबहादुर शाही लगायतलाई समेत छलफलका लागि बोलाएका थिए।

प्रचण्डले बिहीबार ओली समूहका अविश्वासको प्रस्ताव दर्ता गर्ने कामको नेतृत्व लिएका  कँडेल, शाह र सचिव शाहीलाई बोलाएर खुमलटारमा उनीहरुका कुरा सुनेका थिए। त्यस क्रममा प्रचण्डले नेता कँडेललाई पार्टीको केन्द्रीय तहमा सल्लाह नगरी मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर गलत बाटो समातेको आरोप लगाएका थिए र त्यो सच्याउने दायीत्व सबैको काँधमा आएको पनि बताएका थिए।

तर नेता कँडेलले आफूले मुलुक संघीयतामा गइसकेको अवस्थामा आफूहरुले संवैधानिक अधिकार प्रयोग गर्नुपर्छ ठानेर केन्द्रीय तहलाई जानकारी नगराई अविश्वासको प्रस्ताव दर्ता गरेको जबाफ प्रचण्डलाई फर्काएका थिए। त्यसअघि बिहीबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका मुख्यमन्त्री शाही, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसद र अन्य केही नेताहरुलाई छुट्टै भेटेका थिए।

त्यसक्रमा मुख्यमन्त्री शाहीले आफूले सरकार सञ्चालनका क्रममा आफ्नै पार्टीका केही साथीहरुबाट निरन्तर हस्तक्षप भएको, त्यसले गर्दा काम गर्न कठिनाई भएको र आफ्नो अनकुलमा अब मन्त्रीपरिषद् परिवर्तन लगायतका काम गर्न पाउनु पर्ने भन्दै त्यसमा पहल गरिदिन प्रचण्ड र नेपालसँग आग्रह गरेका थिए।

मुख्यमन्त्री शाहीले सरकार प्रभावकारीरुपमा सञ्चालन गर्न नसक्दा त्यसको असर सरकारसँगै पार्टीमा परेको र आगामी जनमत गुम्ने खतरा उत्पन्न भएको भन्दै नेकपा कर्णाली प्रदेशका १८ जना सांसदहरुले आइतबार उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदमा ८ जना ओली पक्षका, ७ जना नेता नेपाल पक्षका र ३ जना प्रचण्ड पक्षका थिए।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नासाथ मुख्यमन्त्री शाहीले आफ्नो पद सुरक्षाका लागि सहयोग माग्दा प्रचण्ड र नेता नेपालले आफ्ना समूहका सांसदहरुलाई जान रोकेपछि अविश्वासको प्रस्तावमाथि छलफल गर्न तेस्रो दिन मगंलबार पूर्वनिर्धारित बैठक स्थगित भएको थियो।

त्यसलगत्तै अध्यक्ष ओली र प्रचण्डले संयुक्तरुपमा अविश्वासको प्रस्ताव यथावत राखी बिहीबारभित्र पार्टी केन्द्रीय कार्यालय धुमबाराही काठमाडौँ आउन दुवै समूहलाई लिखित निर्देशन दिएका थिए।

पार्टी कार्यालयमा दुवै अध्यक्षको उपस्थितिमा उनीहरुले आफ्ना कुरा राख्न पाउने सूचना दिए पनि काठमाडौँमा प्रचण्ड र नेता नेपालले अलगअलग पहिलो दिन आफ्ना र नेता नेपाल समूहका सांसदहरुलाई र दोस्रो दिन ओली पक्षका सासंदहरुलाई भेटेका थिए।

योसँगै प्रचण्डले गुटलाई फेरि प्राथमिकता दिएको आरोप ओली पक्षले लगाएका छन्। उक्त ‘विषयमा एक भएर अविश्वासको प्रस्ताव दर्ता गरेका सांसदहरुलाई फेरि पनि गुटका आधारमा तितरबितर पारियो। त्यो काम नेतृत्वबाटै हुँदा हामी दुखी छौँ,’नेता कँडेलले भने। उनले शनिबार बिहान ११ बजे बालुवाटारमा बैठकका लागि आफूलाई आउन सूचना आएको, तर त्यहाँ उपस्थित हुने नेताहरुबारे आफूलाई जानकारी नभएको बताए।

सचिव शाहीले भने शनिबार दुबै पक्षका नेताहरुलाई बोलाएको,दुबै अध्यक्षको उपस्थितिमा छलफल हुने जानकारी आएको र आफू पनि बैठकका लापग बालुवाटार जान लागेको बताए।