|  

कर्णालीका नेताहरुलाई ओलीको निर्देशन : 'दुई अध्यक्षको निष्कर्ष मान्नुहोस्'

१ कार्तिक,काठमाडौं - कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । 

आज शनिबार दिउँसो प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा नेताहरुलाई बोलाएर पार्टिका दुई अध्यक्षको निष्कर्षलाई मान्न निर्देशन दिएका हुन् । त्यस्तै ओलीले कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने समेत बताएका छन् ।  तपाईँहरुले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौं’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै सहभागी एक नेताले भने ।त्यस्तै ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने समेत बताएका थिए ।

पाटिका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बालुवाटार गएनन् । कर्णालीका दुवै पक्षका नेताहरुसँग कुरा गरिसकेकाले बालुवाटार नआउने सन्देश पठाएका थिए । प्रचण्डले बिहीबार र शुक्रबार दुई पक्षका नेताहरुलाई बोलाएर कुरा सुनेका थिए भने बरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीको नेताहरुबाट जानकारी लिएका छन् ।

यस्तै कर्णालीका इन्चार्ज समेत रहेका नेकपा नेता जनार्दन शर्मा भने स्वास्थ्यमा समस्या भएकाले आउन नसक्ने जानकारी पठाएका थिए । 

बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही,  नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आ(आफ्नो धारणा राखेका थिए । कर्णालीका सबै नेताहरुको कुरा सुनेपछि प्रधानमन्त्रीले अब कर्णालीतिरै फर्कन निर्देशन दिएको समेत बताईएको छ ।