|  

वडाकार्यालय उद्घाटनमा उप-मेयरद्वारा ढुङ्गा प्रहार: किन मेयरसँग दरार बढ्यो ?

१ कात्तिक, धनगढी - कैलालीको घोडाघोडी नगरपालिकाको वडा नं.७ को भवन उध्घाटनका क्रममा मेयर र उपमेयरबीच बिवाद भएको छ ।

भवन उद्घाटनका क्रममा मेयर मेयर ममता प्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद समेत छताछुल्ल भएको छ । भवन उद्घाटनका क्रममा शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको भन्दै उपमेयर प्रेमकुमारी थापाले शिलालेखमा ढुंगा प्रहार गरेकी हुन् । 

मेयर ममता प्रसाद चौधरीले वडा नम्बर ७ को भवनको शिलालेख उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न पुगेकी थिईन् । त्यस्तै उनले मेयरविरुद्ध नाराबाजी समेत गरेकी थिईन्।

उपमेयरको लज्जास्पद हर्कतलाई मेयरले रोक्न खोजे तर, विवाद झन चर्कियो । ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ उनले नाराबाजी गरिन । त्यस्तै उनले शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने समेत बताइन् । 

उता उपमेयरले त्यस्तो हर्कत गरेपछि, वडाध्यक्ष धनबहादुर बमले मेयर र उपमेयर दुबैलाई कार्यक्रमबाट जान आग्रह गर्दै भने, ‘वडाध्यक्षले उद्घाटन गर्छ, वडा सदस्यहरु सहभागी हुन्छन् ।’ 

तर वडा अध्यक्षको अनुरोधलाई समेत उपमेयरले बेवास्ता गर्दै एक्लै नाराबाजी गरेपछि सबै भवनमा उपमेयरको पनि नाम राख्ने सहमति भएको  वडा अध्यक्ष बमले बताए ।