|  

आईपीएल: चेन्नईलाई ५ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

२ कार्तिक । दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदैै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो ।

चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए । यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अक्षर पटेल २१ रनमा अविजित रहे ।

रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । यस्तोमा पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १र१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अम्बाती रायडुले अविजित ४५ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाए । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहे ।

दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिए । तुषार देशपाण्डे र कागिसो राबडाको नाममा एक एक विकेट रह्यो ।

चेन्नईविरुद्ध एक विकेट लिएसँगै राबडाले आईपीएलमा ५० औं विकेट पुरा गरेका छन् । उनले आईपीएलमा सर्वाधिक कम खेलमा ५० विकेट पुरा गर्ने खेलाडीको कीर्तिमान समेत बनाए । राबडाले २७ खेलमा ५० विकेट पुरा गरेका हुन् । जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । दिल्लीको यो सातौं जित हो ।

दिल्लीले चेन्नईलाई लगातार दोस्रो खेलमा पराजित गरेको हो । सिजनको पहिलो भेटमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको थियो । चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा रहेको छ ।