|  

उदयपुरमा स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

२ कार्तिक, काठमाडौं । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.प.७१७१ नम्बरको स्कारपियो राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो। 

दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन्। 

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। 

पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो। अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको छ। 

प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ। गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ। उनीहरु सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी आएको प्रहरीले जनाएको छ ।