|  

सांसद् डा.भीम रावल र शोभा शाक्‍यले दशैँ पेश्की फिर्ता गर्ने प्रतिबद्धता

२ कार्तिक,काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद् एवं स्थायी समिति सदस्य डा.भीम रावलले दशैँ पेश्की फिर्ता गर्ने बताएका छन् । 

डा.भीम रावलले संसद् सचिवालयलाई पत्र लेखी आफ्नो खातामा जम्मा भएको दशैँ पेश्की भत्ता फिर्ता गर्न आग्रह गरेका हुन् । उनले खातामा पठाइसकिएको रकम संसद् सचिवालयले तान्‍न नमिल्ने भए सो बराबरको चेक आफूले संसद् सचिवालयमा बुझाउने वा आगामी महिनाको नियमित तलबबाट कट्टा गर्न उनले विकल्प समेत सुझाएका छन् ।
 
कतिपय सांसद्हरुले सार्वजनिक खपतका लागि बोल्ने तर संसद् सचिवालयलाई यस सम्बन्धमा आग्रह नै गर्दैनन् भनेर उनीहरुको आलोचना पनि हुँदै आएको थियो । यद्धपी डा. रावलले भने आज आइतबार पत्र नै पठाएर दशैंको पेश्की बापत्को ६४ हजार ७० रुपैयाँ फिर्ता गर्ने बताएका हुन् ।

डा.रावलले संसद् सचिवालयलाई पत्र पठाउनुअघि ट्वीटरमा दशैँ भत्ता नलिन कुनै नयाँ कानुन या कानुनमा संशोधन चाहिँदैन भन्दै उक्त रकम नलिन जनप्रतिनिधिलाई समेत अपिल गरेका थिए ।

त्यस्तै जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने भन्दै साझा पार्टीकी बागमती प्रदेशसभा सदस्य शोभा शाक्यले पनि रकम फिर्ता गर्ने बताएकी छिन् ।