|  

पत्रकार महासङ्घ सहितका संस्थासंग सहकार्य गरी अघि बढ्छु : मन्त्री गुरुङ

२असोज,काठमाडौं - नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार महासङ्घ सहितका सरोकार राख्ने संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

आज आईतवार मन्त्री निवास पुल्चोकमा नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँगको भेटमा मन्त्री गुरुङले पत्रकार महासङ्घ सहितका सरोकार राख्ने संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।  उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने  समेत स्पष्ट  पारेका छन् ।

भेटमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङलाई सफल कार्यकालका लागि शुभकामना दिँदै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलबारे महासङ्घको धारणा समेत प्रस्तुत गरेका थिए । 

कोभिड १९ पछिको अवस्थामा सरकार, श्रमजीवी पत्रकार र मिडिया सञ्चालकबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने उल्लेख गर्दै महासङ्घले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आमसञ्चार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, सञ्चार क्षेत्रमा पुनःसंरचना गरी सघीयता र समावेशिताको कार्यान्वयन गर्न आग्रह गरेको थियो ।  

गत असोज २९  गते कार्यभार सम्हालेका मन्त्री गुरुङले आज नेपाल पत्रकार महासंघका टोलीसंग भेटघाट गरेका हुन् ।