|  

कर्णाली मुख्यमन्त्री अविश्वास प्रकरण: ओली–प्रचण्ड छलफल बिनानिष्कर्ष नै टुङ्गियो

२ कार्तिक, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदले दर्ता गरेको अविश्वास प्रस्ताव सम्बन्धमा सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भएको छलफल आइतबार पनि विनानिष्कर्ष नै टुंगिएको छ । कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सुल्झाउन प्रधानमन्त्री तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलबाट कुनै निष्कर्ष निस्कन सकेन ।

यस विषयमा प्रधानमन्त्री ओलीले शनिबार कर्णालीका मुख्यमन्त्री शाही, नेकपाका कर्णाली सह–इन्चार्ज यामलाल कँडेलसहित दुवै पक्षसँग छलफल गरेका थिए । अध्यक्ष प्रचण्डले पनि बिहीबार र शुक्रबार कर्णालीका दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए । 

शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीका दुई अध्यक्ष बसेर सहमति निकाल्ने र त्यो सहमति सबैले मान्नुपर्ने बताएका थिए ।

सोहीअनुसार दुईजना अध्यक्ष ओली र प्रचण्ड आइतबार छलफलमा जुटेका हुन् । तर, कर्णालीका विषयमा छलफल जारी राख्ने भन्दै बैठक टुंगिएको नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।