|  

आलोचनापश्चात् दशैंभत्ता फिर्ता गर्ने तयारीमा नेकपा: कहिले गर्छ निर्णय ?

३ कार्तिक,काठमाडौं - अन्ततः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले पनी आफ्ना सांसदहरुको खातामा आएको दसैँ भत्ता फिर्ता गर्ने भएको छ ।

कोरोनाका कारण मुलुक आर्थिक संकट परेका बेला सांसदहरूले दसैँ खर्च लिएको भन्दै  सांसदहरुको चौतर्फी आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेर चाँडै निर्णय गर्ने तयारी गरेको बताएको छ ।  नेकपा संसदीय दलका उपनेता सुवास नेमांङले पार्टी नेतृत्वसँग यसबारे छलफल भइरहेको भन्दै संसदीय दलले यसबारे चाँडै निर्णय गर्ने जानकारी दिएका छन् । 

उनले दसैँ भत्ता फिर्ता गर्ने विषयमा शीर्ष नेताहरुसँग छलफल भइरहेको भन्दै चाँडै टुंगोमा पुुग्ने पनि बताएका छन्। यद्धपी आलोचना बढेपछि कतिपय सांसदहरुले भने व्यक्तिगत रुपमै भत्ता फिर्ता गरेको घोषणा गरिसकेका छन् । तर, यसरी व्यक्तिगत निर्णय गरेर सांसदहरुले ‘सेलिब्रेटी’ बन्ने काम गरेको भन्दै पार्टीभित्र आलोचना पनि भएको छ ।

मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णयअनुसार संसद सचिवालयले यो वर्षको भत्ता सांसदहरुको खातामा पठाएको थियो ।