|  

आजबाट खाद्य कम्पनीद्धारा खसीबोका बितरण सुरु : प्रतिकिलो मुल्य कती, कति पाउंछन् छुट ?

३ कार्तिक,काठमाडौं - आज (सोमबार)बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी तथा बोका बिक्रीवितरण सुरु गरेको छ ।
 
कम्पनीमा दाङ र मकवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो पटक  खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरी बिक्री बितरण सुरु गरेको बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्री-वितरण गरेको छ ।

त्यस्तै निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा रु १० छुट दिने समेत कम्पनीले बताएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार काठमाडौँ आइपुगेका चौपायाको आज सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु गरिएको छ । अहिले प्रतिकिलो १० छुट दिई, प्रतिकिलो रु ५५० का दरमा थापाथली स्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्री वितरण सुरु गरिएको छ ।
 
त्यस्तै उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो रु दश छुट दिइएको कम्पनीले जनाएको छ ।
 
कम्पनीकाअनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौँ आइपुगेको छ ।

यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार  खसीबोका ल्याउने तयारी गरेको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ ।