|  

सबै स्थानीय तहमा १५ शय्यासम्मको अस्पताल बनाउने तयारी

३ कार्तिक, काठमाडौं । सरकारले सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल मङ्सिर १५ मा एकैपटक शिलान्याश गर्ने गरी तयारी थालेको छ । आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीहरूबीच कोरोना रोकथाम नियन्त्रण र समन्वय गर्न बसेको बैठकले सो निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'स्थानीय तहमा ५ देखि १५ शय्याका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको छ । सो सन्दर्भमा निर्माण गरिने ती अस्पतालहरूको डिजाइन स्वास्थ्य मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने र सबै पालिकामा अस्पताल भवनको शिलान्याश मङ्सिर १५ गाते गर्ने गरी तयारी मिलाउने ।'

त्यसका लागि आवश्यक पर्ने आइसीयु, एचडीयु, भेन्टिलेटर लगायतका मेसिन उपकरण तकाल खरिद गर्ने गरी तयार कार्ययोजना अनुसार खरिद प्रक्रिया मन्त्रालयले अघि बढाउने र आवश्यक पर्ने स्रोत अर्थ मन्त्रालयले मिलाउनेसमेत बैठकले निर्णय गरेको हो ।

बैठकले आपतकालीन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्न स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।