|  

भैरहवाको एभरेष्ट पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी

४ कात्तिक, बुटवल । रुपन्देहीको भैरहवास्थित एभरेष्ट पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ । सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा सोमबार राति पौने ८ बजे एक्कासी आगलागी भएको हो ।

रुपन्देहीका विभिन्न ठाउँका तीनवटा दमकलको १ घण्टाको प्रयासमा आगो नियन्त्रणमा आउन सकेको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए।

आगलागीबाट पम्पलाई जोगाउन सकिएको भएपनी ट्यांकर र त्यसमा भएको इन्धन भने सबै जलेको खत्रीले बताए। पम्पमा सामान्य क्षति पुगेको छ। 

आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता खत्रीले बताए ।

सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट गएका दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । पेट्रोल पम्प तथा नजिकका घरहरुमा भने क्षति नपुगेको प्रहरीले बताए ।