|  

खसी–बोकाको स्वास्थ्य परिक्षण गर्दै महानगर, कुन रङ् लगाईएको खरिद गर्न उपयुक्त ?

४ कार्तिक, काठमाडौं । काठमाडौं महानगरले दशैंमा बिक्रीका लागि ल्याइएका खसी, बोका, भेडा र च्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्न थालेको छ । यससँगै चौपायाको स्वास्थ्य परीक्षण गरेर निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउँदै आएकाले खसी, बोका, भेडा र च्याङ्ग्राका स्वास्थ्य स्थीतीबारे बुझेर मात्र खरिद गर्न महानगरले आग्रह गरेको छ । 

काठमाडौं चौपाया खरिद बिक्री कम्पनीले यसपटक दशैमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ । यसरी आउने चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट ३ वटा टोली परिचालन हुने भएका छन् । दशैं पर्वमा खानका लागि प्रयोग हुने मासुजन्य खाद्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन हामी ३ टोली खटाउँदै गरेको कम्पनीले जनाएको छ ।

टुकुचामा खोटाङ्, नेपालगञ्ज, सिन्धपाल्चोक, काठमाडौंलगायत बिभिन्न जिल्लाबाट ल्याइएका खसी बोका र मनाङ्बाट ल्याइएको च्याङ्ग्राको रगत लिँदै महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले रगत नमूना लिएर काम थालनी गरेका थिए । 

‘स्वच्छ मासु र पशुजन्य खाद्यबस्तुका लागि हामीले पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमूना संकलन र परीक्षण थालेका हौं ।’ नमूना लिँदै डा झाले भने, ‘अहिले लिइएको रगतको नमूना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडि (खोरेत), पिपिआरलगायत रोग परीक्षण गर्छौं । यसबाट कुन—कुन जिल्लाका पशुमा कस्ता—कस्ता खालका समस्या छन् । थाहा पाउन सकिन्छ ।’ 

यो कार्यक्रम एक पटक मात्र हो कि, नियमित चल्छरु प्रश्नको जवाफमा डा. झा भन्छन्, ‘नमूना संकलन र परीक्षण हाम्रो स्वीकृत कार्यक्रम हो । यो नियमित हुन्छ । अहिले रगतको नमूना लिएका छौं । हामी मासु, अण्डा, दानालगायत पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको संकलन र परीक्षण गर्छौं ।’ 

नमूना संकलनका लागि महानगरले संघ सरकारअन्तर्गतको पशुसेवा बिभाग, प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रसँग समन्वय गरेको छ । डा. झाका अनुसार आज नमूना लिइएको नमूनाको नतिजा आउन ४ दिन समय लाग्छ ।