|  

प्युठानमा बस दुर्घटना : चालकको मृत्यु, ३ घाइते

४ कार्तिक,प्युठान - प्युठानमा बस दुर्घटना हुंदा चालकको मृत्यु भएको छ । 

जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराही तर्फ जांदै गरेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा ब्रेक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक दाङ बन्जाडेका ४० वर्षीय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताए । 

सो दुर्घटनामा तीन यात्रु घाइते भएका छन् । घाइतेहुनेहरुमा बङ्गलाचुली गाउँपालिका-३  की ३० वर्षीया वसन्ता विक, माण्डवी १ तिराम बस्ने वर्ष ४५ को लक्ष्मी खत्री गम्भीर घाइते भएका छन् भने माण्डवी गाउँपालिका-१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी सामान्य घाइते भएको सूचना अधिकारी ढकालले बताए । बस सडकदेखि २०० मिटर तल खसेको छ । 

घाइतेलाई उपचारका लागि दाङ पठाउने तयारी भएको प्रहरी निरीक्षक पोषण ढकालले बताए ।