|  

निजगढ-काठमाडौं द्रुतमार्गसँग मदन भण्डारी मार्ग पनी जोडिने

४ कार्तिक,काठमाडौं - निजगढ-काठमाडौं द्रुतमार्गसँग हेटौंडा-काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन सुरु भएको छ । 

बागमती प्रदेश सरकारले काठमाडौं–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि संघीय सरकारले त्यसको अध्ययन थालेको हो । प्रदेश सरकारले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सरकारले सम्भावित बिन्दुको खोजी सुरु गरेको हो । 

काठमाडौं-निजगढ द्रतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका-८ र इन्द्रसरोवार गाउँपालिका-३ को कोगटे दोभानमा जोड्न सके हेटौंडा-काठमाडौंको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो । प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल बनाएर अध्ययन थालेको छ । 

सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ ई.गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित विन्दुको अवलोकन समेत गरेका छन् । अवलोकनपछि उपाध्यक्ष डा. कँडेलले  द्रुतमार्गको प्रारम्भमा यसमार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताए ।

उनले द्रुतमार्ग अनुगमन समितिले प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको समेत बताए । समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन र अध्ययनका लागि गएको उनको भनाइ थियो । पहिलो चरणमा व्यवहारिक र सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष डा. कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रै द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ भन्ने टुंगो लाग्ने बताए । दुई द्रुतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उनले उल्लेख गरे । 

प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ ई.गजेन्द्र थपलियाले प्रदेश सरकारले थालेको यस काममा नेपाल सरकारले यसमा सहयोग र सहकार्य गर्ने बताए । “प्रदेशले हेटौंडा–काठमाडौंको दूरी ५४ किलोमिटरमा छोट्याउने जुन लक्ष्य लिएको छ, त्यो सरहानीय छ, नेपाल सरकारले यसलाई सहयोग गर्छ”, विज्ञ थपलियाले भने ।  

मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने र द्रुतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर आवश्यकता रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउँछन् । ५४ किलोमिटर बाटो स्तरीकरण गरी सबै प्रकारका सवारी साधनको आवागमन गराउन सकिने र दीर्घकालीनरूपमा राज्यलाई लाभ हुने उनी बताउँछन् । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको बताउँछन् ।

सडक फराकिलो बनाउने, पर्खाल लगाउने, सम्याउने काम भइरहेको र चाँडै कालोपत्रक गर्ने काम सुरु हुने उनको भनाइ छ । उनले प्रदेश सरकारले गौरवको योजनाको रूपमा सुरुङसहित स्तरीकरणको काम गर्न लागेको र भैँसे–भीमफेदी सडक विस्तारको योजनासमेत कार्यान्वयन चरणमा रहेको उल्लेख गरे ।