|  

आईपीएल: टस जितेर पञ्‍जाबविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीप बेन्चमै

४ कार्तिक, काठमाडौं । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी(ट्वान्टी क्रिकेटमा आज (मंगलबार) दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर ब्याटिङ रोजेपछि दिल्ली केहीबेरमा ब्याटिङमा उत्रदैँ छ ।

यद्यपि हालसम्म दिल्लीले खेलेका ९ वटै खेलमा मौका नपाएका सन्दीप १०औं खेलमा पनि बेन्चमा नै रहेका छन् । आजको खेलमा दिल्लीले तीन परिवर्तन गरे पनि त्यसमा सन्दीप भने समावेश छैनन् । रिषभ पन्त र शिम्रोन हेटमायरले पुनरागमन गर्दा अजिन्क्या रहाने र एलेक्स केरी बाहिर रहेका छन् । त्यसैगरी एनरिच नोर्त्जेको ठाउँमा डानियल साम्सलाई पहिलोपटक मौका दिइएको छ ।

दिल्लीले हालसम्म खेलेका ९ खेलमध्ये ७ मा जीत हात पारेको छ भने दुईमा पराजित भएको छ । त्यसैगरी पञ्‍जाबले समान खेलमा ३ जीत निकाल्दा ६ खेलमा हार व्यहोरेको छ ।