|  

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन खर्च ललितपुर महानगरले बेहोर्ने

५ कार्तिक,ललितपुर - ललितपुर महा नगरपालिकाले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न शव वाहनसहित सबै खर्च बेहोर्ने भएको छ ।

महानगरले होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न वडागतरुपमा पीपीई, शव झोला, पन्जा, सेनिटाइजर, मास्कलगायतका सामग्री व्यवस्थापन गर्ने भएको जनाएको छ ।  सरकारले मृत्यु भएका व्यक्तिको परिवार आफैले शव व्यस्थापन गर्ने कार्यविधि तयार गरेपछि ललितपुर महानगरपालिकाले वडागतरुपमा सामग्री तयार गरेको हो ।

ललितपुर महा नगरपालिकाका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले एउटा वडामा ३ जनासम्मको मृत्यु भएमा उनीहरुको शव व्यवस्थापन गर्न मिल्ने गरी सामग्री तयार गरेको जानकारी दिनुभयो । उहाँले चाडवाडमा मृत्यु भएका व्यक्तिको दाहसंस्कारमा समस्या नहोस् भन्दै शव व्यवस्थापन सामग्री तयार गरेको जानकारी दिनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालाले मंगलबारबाटै शव व्यवस्थापन गर्न सबै वडालाई सामग्री उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो । कोभिड सम्पर्क अधिकृत गुरुङले मंगलबार १३ वडामा मृत्यु भएका एक जनाको शव व्यवस्थापन गर्न सामग्री हस्तान्तरण गरिसकेको बताउनुभयो ।

महानगरले एक जनाको मृत्यु भएमा उनको शव बोक्ने दुई व्यक्तिका लागि पीपीईलगायत सामग्री तयार गरेको जानएको छ । ‘एउटा वडामा ३ जनासम्मको शव व्यवस्थापन गर्न ६ सेट सामग्री वडालाई दिनेछौं।’-कोभिड सम्पर्क अधिकृत गुरुङले जानकारी दिनुभयो । नेपाल समाचार पत्र दैनिकमा खबर प्रकाशित् छ ।