|  

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर १३ गते, को–को लड्दै छन् चुवावमा ? (सूचनासहित)

५ कार्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मंसिर १३ गते हुने कार्यकारिणी समितिको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी मंसिर ११ र १२ गते साधारणसभाको अनुमति पाएको महासंघले निर्वाचन तालिका सार्वजनिक गरेको हो । 

निर्वाचन तालिका अनुसार मंसिर ४ गते उम्मेदवारहरुको मनोनयन पत्र दाखिला गर्ने, मंसिर १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन गर्ने, मंसिर ८ गते साँझ ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मतदान समाप्त भएपछि मतगणना गर्ने र मतगणना समाप्त भएपछि निर्वाचन नतिजाको घोषणा पनि गरिने सूचनामा उल्लेख छ ।

बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समुहबाट अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र सौरभ ज्योति उपाध्यक्षको उम्मेदवार छन् । ढकाल समुहबाट भने उमेशलाल श्रेष्ठ, गुणनीधि तिवारी र रामचन्द्र सांघाई उपाध्यक्ष पदमा चुनाव लड्दैछन् । 

जिल्ला नगरस्तरीय संघ र बस्तुगत संघले मुख्य प्रतिनिधिसहित २ जना र उम्मेद्वार खडा गर्ने जिल्ला नगरस्तरीय उद्योग वाणिज्य संघ र बस्तुगत संघले उम्मेदरवारसहित ३ जना प्रतिनिधि पठाउन सक्ने छन् ।

बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको जानकारी गराएको छ । त्यस्तै उपाध्यक्षहरुको निर्वाचन भने कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ । अरु कार्यकारिणी सदस्यहरुको निर्वाचनका लागि भने महासंघको भवन टेकुलाई नै मतदान स्थल तोकिएको छ ।