|  

कैलालीमा असई र जवानको हत्या गर्ने ७ जना पक्राउ

५ कार्तिक, काठमाडौं । धनगढी उपमहानगरपालीका जुगेडामा रहेको अस्थायी प्रहरी पोष्ट इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्यामा संलग्न ७ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आज  बुधबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

तस्करहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको जिल्लाप्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले जानकारी दिए ।

तस्करहरुले नेपालबाट मटर भारत तर्फ तस्करी गर्दै गर्दा गस्तीमा गएका प्रहरीलाई हत्या गरेको समेत बिष्टले बताए ।

गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएकाथिए ।

खोजीगर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो ।

घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिकको शव भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शवपनि फेला परेको थियो ।

प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको हो ।

उनीहरु सवार बा.५८प ५२८४ नम्बरको मोटरसाइकल भने घटना स्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरिक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको थियो ।।