|  

इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आईपीओ जारी गर्दै, एजीएम मंसिर ३ गते

५ कार्तिक, काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आईपीओ प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आयोजना गर्न लागेको छ । बैंकले आफ्नो दोश्रो वार्षिक साधारण सभा आगामी मंसिर ३ गते आव्हान गरेको हो ।

बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ छ । यसको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँको साधारण शेयर जारी गर्नेछ । यसमध्ये ०.२ प्रतिशत शेयर कर्मचारीका लागि छुट्याइएको छ ।
सो प्रस्तावलाई सभाले पारित गरेपश्चात कम्पनीले सर्वसाधारणमा सो मात्राको आईपीओ जारी गर्ने छ ।

त्यस्तै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिर नक्साल र कोरोना कोषलाई क्रमशः एक लाख ५० हजार रुपैयाँ र २५ लाख रुपैयाँ सहयोग गर्ने प्रस्तावलाई सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

उक्त सभा सो दिन अपरान्ह ४ बजे काठमाडौंको बानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालयमा हुने भएको छ । अनलाईन प्रविधिमार्फत हुने उक्त सभामा सेयरधनीलाई कन्फेरेन्सको लिंक र आईडी पासवर्ड उपलब्ध गराउने कम्पनीले जानकारी गराएको हो ।