|  

कोरोनाविरुद्धको चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

५ कार्तिक, काठमाडौं । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ ।

ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको खोपको प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनका अनुसार ४ करोड ६० लाख डोज कोरोना खोपको लागि सम्झौता पनि भइसकेको छ ।

डोरियाका अनुसार ब्राजिलमा सन् २०२१ को जनवरीसम्ममा खोप कार्यक्रम सुरु हुनेछ । ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको मुलुकमध्येको एक हो । अहिलेसम्म ब्राजिलमा ५३ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । साथै मृत्यु हुनेको संख्या पनि एक लाख ५५ हजारको आसपास पुगेको छ ।

ब्राजिलको स्वास्थ्य नियामकले स्वीकृति दिएको खण्डमा यो ब्राजिलको कोरोनाविरुद्धको खोप अभियानमा प्रयोग हुने दुईमध्ये एक खोप बन्नेछ । ब्राजिलले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले निर्माण गरिरहेको कोरोनाविरुद्धको खोपलाई पनि यो अभियानमा समावेश गर्ने योजना बनाएको छ ।

यसअघि साओ पाउलोका गभर्नर डोरियाले चिनियाँ कम्पन सिनोभ्याकले निर्माण गरिरहेको खोप परीक्षणको क्रममा सुरक्षित रहेको र यसले मानिसहरुलाई कोरोनाबाट बचाउने बताएका थिए । यो चिनियाँ खोपको परीक्षण साओ पाउलोको रिसर्च सेन्टर बुटानटान इन्स्टिच्युटले गरिरहेको छ । इन्स्टिच्युटले सोमबार, प्रारम्भिक नतिजाअनुसार तेस्रो चरणको क्लिनिकल परीक्षणमा यो खोप सुरक्षित पाइएको बताएको थियो ।

यो खोपको परीक्षण अहिले टर्की र इन्डोनेसियामा पनि भइरहेको छ । बीबीसी